Butwal Today

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १५ भदौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । भारतीय आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशनबाट समायोजित मूल्य प्राप्त भएपछि निगमले उक्त आधारमा खुद्रा मूल्य परिमार्जन गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ । यद्यपि, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि एक रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंबाट हुने उडानका लागि हवाई इन्धनमा प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूका लागि भने ब्रेकइभेन मूल्य कायम गरिएको छ ।

नयाँ मूल्यहरु आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।