© २०२३
गुल्मी, १५ भदौ ।
जिल्लाको पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले फेदी गाउँमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मुसिकोटे मकैको आटोको ब्राण्डिङ्सँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीले आटोको ब्राण्डिङ्मा सहयोग गरेको छ । तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म करिब ९० लाख खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले जानकारी दिएका छन् ।
साना किसान सहकारीले स्थानीय किसानहरूको मकै प्रति पाथी २०० रुपैयाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर शनिवारदेखि औपचारिक रूपमा बजारमा पठाइएको छ ।
अहिले मकैको आटोलाई प्रतिकिलो एक सय ३० रुपैयाँ पर्ने प्याकेट बजारमा ल्याएको छ । त्यसै गरी साना किसानले २५ किलोको बोरामा प्याकिङ गरेर आटो बजारमा ल्याएको हो ।
सहकारी मार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौँसम्म कम्तीमा ३५ टन जति आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिए ।
उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै गाउँको गुणस्तरीय उत्पादनको उपभोग सहरसम्म पु¥याउने आफूहरूको मुख्य उद्देश्य रहेको बताए । मध्य पहाडी क्षेत्रमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वास्थ्य र स्वादको हिसाबले राम्रो, मिठो र स्वादिलो हुने भएकाले पहिलो चरणमा मकैको आटो र पिठोलाई सहकारी मार्फत बजारमा पठाइएको पेमीले बताए ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मकैको प्रशोधन गर्ने उपकरण, लेवलिङ्ग, र प्याकेजिङ्गमा आफूहरूले ८५% अनुदानमा सहयोग उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले जानकारी दिए ।
मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेहरूका लागि मेहनत गरे केही हुन्छ, भन्ने साना किसान सहकारीले राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।
उनले मुसिकोटे आटोलाई बजारीकरण गर्नका लागि नगरबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रशोधन उद्योगले कृषि उपजको प्रवर्द्धनमा समेत थप मद्दत पुराउने बताएका थिए ।
२०६३ सालमा स्थापना भएको उक्त साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत २, ३ र ४ वडाका करिब तीन सय घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गराउँदै आएको छ ।