© 2026
काठमाडौं, १५ भदौ ।
हाल मनसुनको न्यूनचापीय रेखा नेपालको सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको पनि महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनअनुसार, आज दिउँसो देशभर सामान्यतया आकाश बादलले ढाकिएको रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बादलयुक्त अवस्था रहनेछ । कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य पहाड तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाको भनाइ छ ।
मौसम महाशाखाले ‘दिउँसो’ भन्ने शब्द बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको अवधिका लागि र ‘राति’ भन्ने शब्द साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधिका लागि प्रयोग गरिएको स्पष्ट पारेको छ ।
मौसमविद्हरूका अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा मानिन्छ । १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी, र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।
त्यसैगरी, ‘एक–दुई स्थानमा वर्षा’ भन्नाले सम्बन्धित प्रदेशको कुल क्षेत्रफलको १० प्रतिशतभन्दा कम भागमा पानी पर्ने सम्भावना जनाइन्छ । यदि १० देखि ३० प्रतिशत क्षेत्रमा वर्षा हुने अनुमान छ भने ‘थोरै स्थानमा’, ३० देखि ५० प्रतिशत क्षेत्रमा भए ‘केही स्थानमा’, ५० देखि ८० प्रतिशतमा भए ‘धेरै स्थानमा’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा पानी पर्ने सम्भावना भएमा ‘अधिकांश स्थानमा वर्षा’ हुने उल्लेख गरिन्छ ।