© २०२३
जितपुर, १५ भदौ ।
माटोमा पसिना बगाएर बाणगंगाका दिपेन्द्र बिक्रम पौडेलले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । मिहेनत र परिश्रम गरे रोजगारीको लागि विदेशमा मात्रै होइन, स्वदेशमा पनि पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनीबाट पाउन सकिन्छ ।
बाणगंगा नगरपालिका–८ पुलचोकका दिपेन्द्रबिक्रम पौडेलको दैनिकी पशु फर्मबाट सुरु हुन्छ । उनी बिहानै फर्ममा पुगेर भैँसीलाई दानापानी खुवाउने र गोठ सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको करिब १६ वर्ष बितिसकेको छ ।
आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी सहितको अनुभव उनीसँग छ । थोरै रकम मार्फत सुरु गरेको व्यवसाय अहिले रु. करिब ५० लाख बढीको लगानी पुगेको उनी बताउँछन् । शान्ति पशु फर्म दर्ता गरेर व्यवसाय गर्दै आएका पौडेलले आफ्नै ढाई बिघा जग्गामा घाँस खेती समेत गरेका छन् ।
२०६१/६२ तिर रोजगारीको सिलसिलामा उनी दुबई पुगे, सुरुवाती चरणमा कमाएको ४ लाख रकम फर्ममा लगानी गरि गाई पालन सुरु गरेका थिए । व्यवसाय सुरु गरेको २ वर्षमा व्यापार सङ्कटमा परेपछि उनी अतालिए ।
तर मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रै उदाहरण उनी अहिले बनेका छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद भैँसी पालनबाट उनले मासिक ६० हजार बढी आम्दानी गर्दै आइरहेका हुन् ।
उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । दैनिक ५० देखि ७० लिटर दूध उत्पादन भई बेच्ने गरेको उनी सुनाउँछन् । घाँसमा आधारित पशुपालन निकै प्रभावकारी रहने पौडेल बताउँछन् ।
घाँसको सिजनमा कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देहीमा ७ लाख बढीको घाँसका बिरुवा बिक्री गर्ने गरेका उनी घाँसमा आधारित पशुपालन गर्न अन्य कृषकलाई सुझाउँछन् । लागत पनि कम पर्ने तथा दूध उत्पादनमा बढवा आउने भएसँगै पौडेलले घाँस उत्पादनमा समेत विशेष जोड दिएका छन् ।
परिवार भन्दा बढी पशुलाई स्याहार गर्न र स्नेह लाग्ने बताउने पौडेलले पशुलाई पनि मानिसलाई जस्तै माया दर्साउने हो भने उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । पशुपालन सँगै घाँस खेतीलाई समेत प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।
फर्मको अवलोकनको क्रममा कृषि तथा बन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक निराजन भट्टराईले हैसियत अनुसारको मझौला फर्म सञ्चालन गर्दा प्रविधिलाई आत्मसाथ गरेर काम गर्दा सहज हुने बताए । नेपालमा नमुनायोग्य कृषि फर्म सञ्चालन गर्ने कृषकहरूले यहाँ आएर अध्ययन गर्न जरुरी रहेको तर्क गरे ।
एक छोरा र एक छोरीलाई समेत यही व्यवसायबाट यथेष्ट रूपमा कमाएर उचित शिक्षा दिएको उनले सुनाए । बजारको सहज पहुँच भएकाले पनि दूध बेच्न कुनै समस्या नरहेको उनले बताए ।
यस्तै जिल्लाका प्रायः कृषि सम्बद्ध निकायले आफूले उत्पादन गरेको घाँस खरिद गर्ने साथै घाँसका बिरुवा समेत खरिद सहज हुने हुँदा पनि व्यवसाय सोचेँ भन्दा राम्रो भएको बताए ।