© २०२३
बुटवल, १४ भदौ ।
माओवादी केन्द्रले आगामी कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा गठबन्धन नगरी आफ्नै चुनाव चिह्नमा उम्मेदवार उठाउने भएको छ।
माओवादी लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदर्शन बरालका अनुसार स्थानीय बैठकमा आकांक्षी नेताहरूको नामबारे छलफल गरिएको छ। सोनिया यादव, फैज अहमद खाँ, मनिष जोशी र तीरबहादुर रोका `डार्विन’ आकांक्षी बनेका छन्। “साथीहरूमध्ये सोनियाजीका बारेमा बढी सकारात्मक धारणा आएको छ,” बरालले बताए।
पार्टीले उम्मेदवारको नाम सिफारिस गर्ने तयारी भइरहेको बताए। “यो उपनिर्वाचनमा माओवादी आफ्नै उम्मेदवार उठाउँछ,” उनले स्पष्ट पारे। जनताको पछिल्लो आवश्कता भूगोल भएको कारण भूगोलकै उम्मेद्धारलाई बिशेष प्राथमिक्ता दिने उनले बताए ।
रुपन्देहीका जिल्ला इन्चार्ज सोनिया यादवले समेत आफू आकांक्षी रहेको बताइन्। उनी २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएकी थिइन्। यादव शहीद परिवारसमेत हुन्। उनका श्रीमान् रमेश यादवलाई २०६२ सालमा सुरक्षाकर्मीले भैरहवामा हत्या गरेको थियो।
त्यस्तै, मनिष जोशीले पनि उम्मेदवारीमा चासो देखाएका छन्। उनले अघिल्ला दुई निर्वाचनमा गठबन्धनका कारण माओवादीले आफ्नै चिह्नमा चुनाव लड्न नपाएको भन्दै यसपालि भने स्थानीय समितिले आफ्नै चिह्नमा उम्मेदवार दिने निर्णय गरेको बताए।
फैज अहमद खाँ र तीरबहादुर रोका पनि आकांक्षी सूचीमा रहेका छन्। आकांक्षीहरु मध्यबाट अन्तिम नाम भने पार्टी पदाधिकारी बैठकले सिफारिस गर्नेछ।