© २०२३
लमही, १४ भदौ ।
दाङको देउखुरीमा उद्यम विकास मार्फत समग्र देउखुरीको विकास र समृद्धिका लागि उद्यमी सङ्गम कार्यक्रम मार्फत बहस र पैरवीको सुरुवात भएको छ ।
देउखुरी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाल अमेरिकी अल्मुनाई नेटवर्क को सहकार्य र प्राविधिक सहयोगमा शनिवार लमहीमा देउखुरी क्षेत्रका चार वटै पालिकाका स्थानीय सरकार र सरोकारवालाहरू बिच उद्यम विकास बाट समृद्धि ल्याउन सकिने विषयमा गहन ढङ्गले बहस–पैरवी गरिएको हो ।
समग्र देउखुरीमा समावेशी र दिगो उद्यमशीलता प्रवर्धन गर्ने, युवाहरूलाई वित्तीय कारोबार र रोजगारसँग जोड्ने तथा स्थानीय सरकारलाई उद्यम मैत्री नीति कार्यक्रम र बजेट निर्माण गरी कार्यान्वयनमा ल्याउन घच्घचाउने उद्देश्य अनुरूप नयाँ मोडेलको कार्यक्रम दाङको लमहीमा सुरुवात गरिएको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताए ।
शनिवार लमही स्थित आश्रय होटेलमा स्थानीय सरकारका नीति निर्माताहरू,उद्यमी युवा तथा महिलाहरू र उद्योग व्यवसायीहरू लगायत सरोकारवालाहरूलाई आमन्त्रण गरी देउखुरी व्यापी छलफल गरिएको हो ।
छलफलमा स्थानीय उद्यमहरूको प्रवर्धन मार्फत समग्र देउखुरीको विकास र समृद्धि गर्न सकिने अवधारणा ल्याइएको छ । कार्यक्रमको अवधारणा अनुरूप दिगो उद्यमशीलताको विकास, नवप्रवर्धन मूलक सिप तथा व्यवसायहरू प्रवर्धन मार्फत देउखुरी क्षेत्रको आर्थिक सामाजिक, शैक्षिक, भौतिक, सांस्कृतिक तथा पर्यटन विकास सम्भव भएको बताइएको छ ।
स्थानीय उत्पादनमा आधारित दिगो उद्यम विकास सँगै युवाहरूको विदेश पलायन नियन्त्रण गर्ने, विभिन्न रणनीतिक योजनाहरू तयार गरी उद्यमीहरूको आर्थिक समुन्नतिका लागि वित्तीय क्षेत्र सँग समन्वय जोड्ने, आयआर्जन र रोजगार मूलक अवसरहरू प्रदान गर्ने, छ ।
त्यसै गरी स्थानीय कृषि तथा उद्यम मार्फत तयार भएका सामाग्रीहरूको दिगो र भरपर्दो बजारीकरणका लागि सबै क्षेत्रको समन्वय सहकार्यका साथ स्थानीय सरकारले अपनत्व बोध गर्नुपर्ने लगायतका कुराहरूमा जोड दिइएको छ ।
कार्यक्रममा लमही नगरपालिका अन्तर्गत फुल्कापुरमा हालै सञ्चालनमा आएको उद्योगबाट महिला उद्यमीहरूले तयार गरेका ताना कपडाहरू, गार्मेन्टका उत्पादन तथा हस्तकलाका सामाग्रीहरू राजपुर गाउँपालिकामा तयार भएका गड्यौला मल, स्थानीय बुटिक र हस्तकलाका सामाग्रीहरू, गढवा गाउँपालिकामा तयार गरिने गरेका माटोका शेरामिक भाँडाहरु तथा सिरोही प्रजातिका खसी बोका र राप्ती गाउँपालिकामा तयार गर्ने गरिएको रातो च्याउ,र वेत र बाँसबाट निर्माण गरिएका विभिन्न समाग्रीहरुका १० बढी स्टलहरू समेत राखिएको थियो । त्यसै गरी प्रेरणादायी उद्यमीहरूका सफलताका कथाहरू एवं अनुभव, समस्या र चुनौतीका व्यथाहरू सँगै स्थानीय सरकारका नीति निर्माता उद्यममा जोडिएका नागरिकहरू, प्राविधिक तथा उद्योगी व्यवसायीहरू एवं लगानीकर्ताहरू बिच उद्यम विकासका सन्दर्भमा सकारात्मक बहस तथा मन्थन गरिएको थियो ।
देउखुरी क्षेत्रमा स्थानीय उद्यम विकासको प्रवर्धन हुन नसक्नुमा वित्तीय पहुँचको कमी, स्थानीय सरकारको नितिगत प्राथमिकता नहुनु र बजारीकरणको दीर्घकालीन व्यवस्थापन नहुनु प्रमुख चुनौतीका रूपमा रहेको र यसको समाधान गर्न मिहिन ढङ्गले बहस, पैरवी,छलफलका साथ समुचित कार्यान्वयनको निकास आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा देउखुरीका उद्यमीहरू रविलाल आचार्य, खगेश्वर खनाल, कृष्णी चौधरी, वालीका वली, चौकु कुमाल, बाबुराम भुसाल लगायत सात जना उद्यमीहरूले आफ्नो उद्यम व्यवसायको सफलताका कथा र सञ्चालनमा आएका चुनौती र समस्याहरू बारेमा उद्यमी कथा सुनाए ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीको सहभागिता भएको हो । कार्यक्रममा बोल्दै सांसद चौधरीले स्थानीय उद्यमहरू मार्फत देउखुरीलाई समृद्ध बनाउन सकिने र उत्पादनको बजारीकरणमा उद्योग वाणिज्य सङ्घहरू र सरकारका तर्फबाट प्रशस्तै पहल गर्न सकिने बताए ।
कार्यक्रममा लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष जगत् पोख्रेल, माटो विशेषज्ञ इन्द्रबहादुर वलीले स्थानीय उद्यम विकासको माध्यमबाट देउखुरीलाई थप समृद्ध बनाउन सकिनेमा जोड दिए ।