© २०२३
मानिसमा नकारात्मक सोच आउनु विभिन्न कारणहरूले गर्दा हुन सक्छ, जसमा हुर्केको वातावरण, मानसिक विकासको क्रममा परेका प्रभावहरू, शारीरिक रसायनको गडबडी, र सामाजिक तथा राजनीतिक परिवेश प्रमुख छन् ।
नकारात्मक सोचले व्यक्तिको आत्मविश्वास घटाउँछ, निराशा बढाउँछ र विभिन्न मानसिक तथा शारीरिक समस्याहरू निम्त्याउन सक्छ । नकारात्मक सोचको विकास हुनुमा धेरै कारकहरू जिम्मेवार हुन्छन् । मानिस कस्तो वातावरणमा हुर्कन्छ भन्ने कुराले उसको सोचाइमा गहिरो प्रभाव पार्छ ।
यदि बच्चाको मानसिक विकासको क्रममा नकारात्मक कुराहरू मात्रै दिमागमा परेका छन् भने, त्यसले जीवनभर नकारात्मक सोचाइलाई बढावा दिन सक्छ। अभिभावकले यो गर्नुहुन्छ, त्यो गर्नुहुँदैन भनेर बढी रोकतोक गर्दा वा यसले केही गर्न सक्दैन भनी हतोत्साहित गर्दा पनि बालबालिकामा नकारात्मक सोचको विकास हुन्छ ।
शारीरिक विकासको क्रममा दिमागमा हुने रसायन तत्त्वको गडबडीले पनि नकारात्मक सोच आउन सक्छ । नकारात्मक सोच आउनुको अर्को प्रमुख कारण भनेको नकारात्मक घटना वा व्यक्तिहरूसँगको सङ्गत हो । जब व्यक्तिले नकारात्मक घटनाहरू देख्छ वा सुन्छ, तब उसको दिमागमा नकारात्मक भावनाहरू उत्पन्न हुन थाल्छन् ।
उदाहरणका लागि, यदि कुनै साथीलाई हृदयघात भएको छ र उसले निद्रामा मृत्युको सपना देख्छ भने, छातीमा सामान्य समस्या हुँदा पनि नकारात्मक विचारहरू आउन सक्छन् । गम्भीर परिस्थितिहरू नजिकका आफन्तको जीवनमा देखा पर्दा पनि मानिसले खराब कल्पनाहरू गर्न थाल्छ ।
सामाजिक र राजनीतिक परिवेशले पनि मानिसको सोचाइमा नकारात्मक प्रभाव पार्न सक्छ । हाम्रो समाजमा आलोचना गर्नेहरू धेरै छन् र प्रशंसा गर्नेहरू कम छन् । बाल्यकालदेखि नै मानिसले प्रशंसा भन्दा बढी आलोचनाको सामना गर्नुपर्छ ।
यसले गर्दा मानिसमा नकारात्मक सोचको विकास हुन्छ। सकारात्मक कुरा गर्नमा समाजमा खासै रुचि देखिँदैन, जबकि अरूको कुरा काट्न घण्टौँ बिताउन सकिन्छ । यसले गर्दा नकारात्मकता समाजको एक अंग बन्छ र मानिसहरूले जे गरे पनि आलोचना गर्ने तरिका खोज्छन् ।
मानव मस्तिष्कको बनावटले पनि नकारात्मकतालाई बढावा दिन्छ, जसलाई नेगेटिभिटी बायसु भनिन्छ । यस पूर्वाग्रहका कारण, सकारात्मक भावनाभन्दा नकारात्मक भावनाले हामीलाई बढी सशक्त रूपमा असर गर्छ। मानव मस्तिष्क हाम्रो शरीरको रक्षा गर्न र जीवन्त राख्न बनेको हो ।
नकारात्मक सोचले आत्मविश्वास हराउने, आफूलाई कमजोर सोच्ने, केही गर्न नसक्ने जस्तो लाग्ने, बोल्न डराउने, र निराश हुने जस्ता लक्षणहरू देखा पर्छन्। यसले मानसिक समस्याहरू उत्पन्न गराउनुका साथै दीर्घ रोगहरूलाई पनि बढाउँछ ।
तनाव, चिन्ता, उदासीनता र निराशा जस्ता समस्याहरू नकारात्मक भावको विकाससँगै जन्मन्छन् । नकारात्मक आचरण भएका मानिसहरू जोसुकैको लागि तनावको विषय हुने गर्दछन् । यदि तपाईंको जीवनमा यस्ता मानिसहरू छन् जो हरेक कुरामा नकारात्मक सोच राख्छन् भने, उनीहरूको सङ्गतले तपाईँमा पनि नकारात्मकता सर्न सक्छ।
नकारात्मक सोचलाई हटाउनका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नु, नकारात्मक विचारहरूलाई सकारात्मकमा परिवर्तन गर्नु, योग र ध्यान गर्नु, शान्त वातावरणमा बस्नु, डर लाग्ने कुराको सामना गर्नु, र साथीभाइसँग आफ्ना चिन्ताहरू बाँड्नु यसका केही तरिकाहरू हुन् ।
सकारात्मक सोचले ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले निराशा र असफलता निम्त्याउँछ । सकारात्मक वातावरण सिर्जना गर्नु, मानसिक स्वास्थ्यका लागि समय निकाल्नु, र आध्यात्मिक पठनमा ध्यान दिनु पनि नकारात्मकता हटाउन सहयोगी हुन्छ ।
सकारात्मक सोचले मस्तिष्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ, जसले व्यक्तिलाई सक्रिय र सफल बनाउँछ । सकारात्मक सोच र निरन्तर अभ्यासले असफलताका बाबजुद पनि सफलता प्राप्त गर्न सकिन्छ । नकारात्मक सोचले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ ।
सकारात्मक कुरा सोच्ने व्यक्तिहरूको रोग प्रतिरोधात्मक प्रणाली नकारात्मक कुरा सोच्ने व्यक्तिहरूको भन्दा बलियो हुन्छ । त्यसैले, स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोच अति आवश्यक छ ।
समग्रमा : जीवन पाउनु भाग्यमा निर्भर गर्छ, मृत्यु आउनु समयमा निर्भर गर्छ तर मृत्यु पछि पनि सबैले याद गर्नु त्यो हाम्रो कर्ममा निर्भर गर्छु भन्ने सिद्धान्तलाई अपनाउँदै सकारात्मक सोचको अभ्यास दैनिक गर्नुपर्छ, जसले मानसिकतालाई ऊर्जाशील बनाई कर्म र आचरणमा सुधार ल्याउँछ र मानिसलाई ज्ञानी बनाउँछ । आशावादी हुनु, आफूमा बलियो विश्वास राख्नु, असल मानिसको सङ्गत गर्नु, र चिन्ता तथा तनावलाई मनमा नराख्नु जस्ता कार्यहरूले सकारात्मक विचारको सिर्जना हुन्छ ।
प्रशंसा र प्रोत्साहनले पनि मानिसमा सकारात्मकता बढाउँछ र उसलाई राम्रो काम गर्न हौसला प्रदान गर्छ। यस कारण जहिल्यै राम्रो सोच्नुहोस् र सकारात्मक सोच भएका व्यक्तिहरूको नजिक बस्नुहोस् ।
सबैको जय होस्……………