© २०२३
नवलपरासी,पश्चिम् ।
पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक समेत नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो । तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।
गोरुलाई बर्दघाट नगरपालिकाका पशु चिकित्सकको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौँडा–१९ बस्तीपुरका २८ वर्षीय तोयनाथ सिवाकोटीलाई नियन्त्रणमा लिएर पशुपक्षी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।