© २०२३
नेपालगन्ज, १३ भदौ ।
नेपालगन्ज १० नाइट रनको तयारी तीव्र चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्यान्डको बाङ्सेनमा हुने विश्व स्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् ।
समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा वर्षमा तीन वटा विश्व स्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।
नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवानिचकर्नले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी, अफिसियल लगायतलाई बाङ्सेन सिरिजमा निःशुल्क दर्ताका साथै आतिथ्यता गरिनेछ भने बाङ्सेन सिरिजको सिफारिसमा नेपालमा नेपालगन्ज म्याराथनले सोही सुविधा प्रदान गर्नेछ ।
‘यो सहमतिले नेपाली धावक, आयोजक, अफिसियल लगायतलाई सिक्ने अवसर मिल्नेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, छिमेकी देशमै विश्व स्तरीय म्याराथन आयोजना भइरहेका छन्, यसको लाभ लिने तर्फको अग्रसरता हो, यसका लागि बाङ्सेन सिरिजका संस्थापक रुटलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
एसियाबाट भरपर्दो अगुवाका रूपमा उदाएका बाङ्सेन सिरिजका संस्थापक रुट विश्व रनिङ मञ्चमा आसालाग्दो अनुहार हुन् । बाङसेनको सिफारिसमा थाइल्यान्डबाट आउने पाहुनालाई नेपालगन्ज म्याराथन, नेपालगन्ज १० नाइट रन, काठमाडौँ २५ हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा सहभागी गराइने छ । यी सबै नेपालगन्ज म्याराथनकै सिरिज हुन् ।
वल्र्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण भएको नेपालकै सबैभन्दा सरल रुटमा हुने नेपालगन्ज नाइट रन हरेक असोज ३ गते (सेप्टेम्बर तेस्रो साता) संविधान दिवसका अवसरमा हुने गर्दछ, जहाँ नेपालकै पहिलो एम्स सदस्य धारा नेपालगन्ज म्याराथन ११ वर्षदेखि निरन्तर हुँदै आएको छ ।
बाङ्सेनसँगको साझेदारीपछि नेपालगन्ज म्याराथनका विजेता सहभागी हुने अन्तर्राष्ट्रिय दौडको सङ्ख्या बढेको छ । यसअघि नेपाल रन (युके) सँगको सहकार्यमा विश्व प्रसिद्ध लन्डन म्याराथनमा विगत दुई वर्षदेखि अवसर दिँदै आएको छ ।
यस बर्षदेखि विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा सहभागी गराउने तयारी गरिरहेको छ । त्यस्तै, यस बर्षदेखि जापानको ओसाका म्याराथनमा समेत अवसर दिने तयारी छ ।
नेपालगन्ज म्याराथनको छातामुनि करिब आठ वटा इभेन्ट वार्षिक रूपमा नियमित आयोजना भइरहेका छन् । यसमा गौघाट ग्रिन रन असोज २८ गते, राप्तीसोनारी नेचर रन कात्तिक १ गते सञ्चालन गर्ने तयारी रहेको छ ।
त्यसै गरी धारा नेपालगन्ज म्याराथन मङ्सिर ६ गते शनिवार (नोभेम्बर तेस्रो साताको शनिवार) हुँदै छ भने त्यसको अघिल्लो दिन नेपालगन्ज कनक्लेवको पाँचौँ संस्करण हुनेछ ।
त्यस्तै कर्णाली हाफ म्याराथन मङ्सिर अन्तिम शनिवार, काठमाडौँ २५के हेरिटेज रेस मे १ मा हुनेछ भने एम्ससँगको सहकार्यमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स अप्रिल मसान्तमा हुनेछ । एम्सको दुई वटा पूर्णकालीन सदस्यता लिने नेपालगन्ज नेपालको एक मात्र सहर हो ।