© २०२३
काठमाडौँ, १३ भदौ ।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले कवाड व्यवसायीहरू, उखु किसान र शिक्षकहरू एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।
‘कवाड व्यवसायी, उखु किसान झन्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन । सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो रु के अदालतको आदेश पालना हुन्छ कि हुँदैन रु’ आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरे ।
उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भनेको तर अदालतको आदेशको समेत अवज्ञा गर्दै कवाड व्यवसायीहरू माथि कुटपिट र आक्रामण गरिएको बताए । कवाड व्यवसायीहरूमाथि भएको ज्यादती र डोजर आतङ्क गर्नेहरूमाथि कानुन लाग्नुपर्छ कि पर्दैन भनेर पनि साहले प्रश्न गरे ।
‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरूले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरूलाई कारबाहीको माग गरेर आन्दोलन गर्दा पनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैर जिम्मेवार बन्न मिल्दैन ।
मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस् । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने ।
उनले कवाडहरुले काठमाडौँलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क गरे । काठमाडौँमा काम नलाग्ने चिजहरूलाई निकालेर फ्याक्ट्रीमा पुर्याउने काम गरेको भन्दै कवाड व्यवसायीहरूले काठमाडौँलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।
उनले कवाड व्यावसायीहरुलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीहरूले आफ्नो पुँजी, जवानी र सिङ्गो जीवन लगाएको भन्दै उनीहरूमाथि निषेध गरिएको कुरा आफूलाई स्वीकार्य नभएको चेतावनी दिए ।
महानगरपालिकाको ज्यादतीविरुद्ध कबाड व्यवसायीलेले विगत पाँच दिनदेखि आन्दोलन गर्दै आएका छन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गर्दै कबाड व्यवसायी आन्दोलनरत छन् ।