Butwal Today

आसामलाई ९६ रनले हराउँदै नेपाल ‘ए’ को शानदार जित

१३ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १३ भदौ ।

भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम माथि ९६ रनको सानदार जित निकालेको छ । स्पिनरद्वय युवराज खत्री र बसिर अहमदको प्रभावशाली बलिङ प्रदर्शनको मद्दतले नेपालले एकतर्फी जित दर्ता गर्न सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाउँदै आसामलाई १७४ रनको चुनौती दिएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए भने बसिर अहमदले २७ रन र विवेक यादव २६ रनमा अविजित रहे ।

बलिङतर्फ आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अभिनव चौधरीले २ विकेट झारे भने आयुष्मान मलाकार र अभिलाष गोगोइले १–१ विकेट लिए ।

१७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमै ७७ रनमा अलआउट भयो । उसका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाउँदा सिबशंकर रोयले १६ रनको योगदान दिए ।

नेपालका लेग स्पिनर युवराज खत्रीले ३.२ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए भने बाँयांहाते स्पिनर बसिर अहमदले ३ विकेट हात पारे । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले समान १–१ विकेट लिए ।

यसअघि बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ–लुइस प्रणालीअनुसार १५ रनले पराजित भएको थियो । पाँच खेलको सिरिजमा नेपालले हालसम्म १–१ को बराबरीमा पुगेको छ । अब बाँकी तीन खेल गुवाहाटीस्थित एसीए रंगशालामा डे-नाइट (फ्लडलाइट) प्रणालीमा खेलिनेछन् ।