© २०२३
काठमाडौँ, १३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई दृष्टिगत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले चीन भ्रमणअघि संसदमार्फत स्पष्ट राष्ट्रिय अवधारणा तय गर्न आग्रह गरे ।
उनले भने – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रहरू नेपालका अविभाज्य भूभाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल जत्तिकै दृढ छ । प्रधानमन्त्रीज्यूको आसन्न भ्रमणभन्दा अगाडि संसदबाट राष्ट्रियताको विषयमा साझा धारणा बनाइयोस् भन्ने माग गर्दछु ।”
सांसद पराजुलीले नेपालको भूभागमा अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहमति विना गरिने कुनै पनि सम्झौता वा गतिविधि वैधानिक नहुने स्पष्ट पारे । उनले थपे- “यस्ता कार्यहरू आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमाथि प्रहार मात्र होइन नेपालको राष्ट्रिय स्वाभिमानमाथिको गम्भीर आघात हो ।”
उनले सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी रहेको प्रष्ट भएको उल्लेख गरे । इतिहास, भूगोल तथा हाइड्रोलोजिकल प्रमाणहरू जस्तै नदीनालाको प्रवाह, भू–संरचना, स्थानीय बस्ती र भू–आकृतिक आधारका साथै सन् १९६१ को जनगणना, त्यति बेलाका प्रशासनिक अभिलेख र सन् १९५९ को आम निर्वाचनको मतदाता नामावली लिम्पियाधुरा नेपालको भूभाग भएको पुष्टि गर्न पर्याप्त रहेको बताए ।
सांसद पराजुलीले संयुक्त राष्ट्रसङ्घको चार्टरको धारा २ (४) को हवाला दिँदै कुनै राष्ट्रले अर्को राष्ट्रको भू–सार्वभौमिकता वा राजनीतिक स्वतन्त्रता प्रतिकूल क्रियाकलाप गर्न नपाउने उल्लेख गरे ।
भारत र चीनले लिपुलेकबारे गरेको द्विपक्षीय सम्झौता सम्बन्धमा नेपाल सरकार मौन बसेको भन्दै उनले प्रश्न उठाए । नेपाल सरकार किन मौन छ ? यस्तो संवेदनशील विषयमा किन टालटुल गर्दै छ ? जनताले मौनता होइन सरकारको स्पष्ट धारणा र जवाफ अपेक्षा गरेका छन् – उनले भने ।
प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै उनले भने- “प्रधानमन्त्रीज्यूले छिमेकी दुवै मुलुकका राष्ट्रप्रमुखसँग केवल शिष्टाचारमै सीमित नभई दृढ, परिणाममुखी, शान्तिपूर्ण र प्रभावकारी कूटनीतिक संवाद गर्नुपर्छ।”
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाने कार्यक्रम छ।