© २०२३
गुल्मी, १३ साउन ।
वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी कोरिडोर सडक अन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
उक्त सडक निर्माणको काम गर्दै आइरहेको निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजर र एक्स्काभेटर माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।
सडक सुचारु बनेपछि बिहानैदेखि त्यस क्षेत्रमा रोकिएका सवारी साधनहरू अहिले गन्तव्य स्थान तर्फ लागिसेका छन् । बर्सादको समयमा उक्त सडक पटक पटक अवरुद्ध हुँदा त्यस क्षेत्रका यात्रुहरूले समस्या भोग्दै आइरहेका छन् ।
त्यसै गरी शुक्रबार बिहानदेखि अवरुद्ध बनेको वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोलामा सडक माथिबाट लेदो सहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
वर्षा भइरहेको कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । गुल्मीमा गत तीन दिनदेखि मध्यम वर्षा भइरहेको छ ।