© २०२३
रौतहटमा भएको रुबी शाहको हत्या प्रकरणले फेरी पनि नेपाली दिदी बहिनीहरू कति असुरक्षित छन् भन्ने पुष्टि गरेको छ । रुवि हत्याका आरोपी रौतहटको माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेका छन् ।
यद्यपि उनी आफैले शरीरमा आगो लगाएपछि उनको समेत बुधबार मृत्यु भैसकेको छ । यो हत्याको घटनाले महिलाहरू प्रेमको नाममा, पारिवारिक समस्याको नाममा र अरू धेरै कारणले मृत्युको मुखमा पुग्न बाध्य भइरहेको देखिएको छ ।
मृत्यु अघि हत्याका आरोपी लक्ष्मणले आफू गरिब भएकै कारण रुबी र आफ्नो प्रेम रुबीको आमाले स्वीकार नगर्दा यो अवस्था आएको समेत बताएका छन् ।
वास्तवमा उनले भनेको कुरा सही हो भने परिवारले प्रेम अस्वीकार गर्दाको परिणाम कुन अवस्थामा पुग्छ र कस्तो नियति भोग्नुपर्छ भन्ने यो एउटा उदाहरण हो । यसअघि लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेर भारतमा लुकाएको आरोपमा पक्राउ परेका थिए ।
१४ वर्षकै उमेरमा रुबीलाई अपहरण गरेको भन्दै परिवारले दिएको अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखनमा मुद्दामा उनी १७ दिन हिरासत बसेर छुटेका थिए ।
लक्ष्मणको छातीमा र हातमा रुबीको ट्याटु देखिएकोले दुईबीच पहिलेदेखि नै गहिरो प्रेम रहेको पुष्टि हुन्छ तर साँचो प्रेमले निम्त्याएको बिछोड अत्यन्त पीडादायी भएको छ ।
लक्ष्मणले रुबीको हत्या गरि आफू पनि नबाँच्ने भन्दै शरीरमा आगो लगाएर देह त्याग गरेका छन् । परिवारले अस्वीकार गर्दा भएको यो ठूलो मानवीय क्षति हो भन्दा अत्युक्ति हुँदैन ।
यद्यपि हत्याको सवै कुरा बाहिर आईसकेको छैन् । समाजमा हुने यस प्रकारका कुनैपनि घटनामा महिला नै तारो हुनुपर्ने, उनीहरूलाई मृत्युको शिकार वनाइने वास्तवमै विडम्वनाको कुरा हो । नेपाली समाजमा यस प्रकारका घटना लगातार दोहोरिइरहेका छन् ।
यसअघि गत बर्षमात्रै अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको निर्मम तरिकाले हत्या भएको थियो । उनका श्रीमान नरेश भट्टले ममताको हत्या गरि शव लुकाएको त्यहाँको प्रहरीको अनुसन्धानपछि पत्ता लागेको थियो ।
नेपाली महिलाहरू अव नेपालमा मात्रै होइन मानव अधिकारको देश भनेर चिनिने अमेरिकामा पनि सुरक्षित छैनन भन्ने स्पष्ट भैसकेको छ । त्यसैगरी गत बर्ष नै गौरमा नवविवाहित युवतीको हत्या भएको घटना बाहिर आयो ।
चन्द्रनिगाहपुरमा गएको महिनामात्रै विवाहित महिलाको शव उनको घरमै फेला प¥यो । यी घटनाले के देखाएका छन् भने महिलाहरू अझैपनि सुरक्षित हुन सकेका छैनन् । उनीहरू सवैभन्दा बढी आफ्नै घरमा असुरक्षित रहेका छन् ।
खासगरि मधेशमा यो समस्या विकराल बन्दै गएको छ । मधेशमा अधिकांश चेलीबेटीको हत्यामा दाईजो जोडिने गरेको छ । यसरी नेपाली महिला चेलिबेटीमाथि जघन्य अपराधका घटना बढिरहेका छन् ।
अर्कोतर्फ पछिल्लोसमय विदेश गएका नेपाली युवतीहरू नेपालीहरूबाटै आक्रमण, दुव्र्यवहार र यौन शोषणको शिकार हुनुपरेको घटना क्रमशः बाहिर आउन थालेका छन् । अमेरिकामा भएको ममताको हत्या वा रौतहटमा रुबीको हत्या होस वा अरू हत्याका घटना नै किन नहोस, अपराधीलाई ढाकछोप गर्ने काम हुनु अर्को अपराध निम्त्याउनु हो ।
यसले नेपालीहरूमा चिन्ता थपिएको छ । नेपाली चेलीहरू विदेशमा मात्रै होइन, आफ्नै देशमा समेत असुरक्षित रहेको कुराले चिन्ता उत्पन्न भएको छ । ६ बर्ष अघि भएको निर्मला पन्तको हत्या पनि अझै रहस्यमय बनेको छ ।
अनुसन्धान जारी रहेको भन्दै प्रहरीले हत्या ढाकछोप गर्दै आएको छ । नेपालमा विगत ५–६ बर्षयता यस्ता अपराधजन्य घटना दिनहुँजसो सुन्नमा आईरहेका छन् । अतः सरकारले अव यस प्रकारका घटना नियन्त्रणमा अभियान चलाओस् । रुबी शाहको नियति अरू नेपाली चेलीले भोग्न नपरोस् ।