© २०२३
कपिलवस्तु, १३ भदौ ।
कपिलवस्तु अस्पतालको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई वार्षिक कार्य योजना निर्माण गरेर थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मानव अधिकार तथा सचेतना केन्द्र (हुरेक नेपाल) को आयोजनामा अस्पतालमा आयोजित ओसिएमसीको बैठकमा सहभागी जिल्लाका सरोकारवालाले प्रभावकारी सेवा प्रदान गर्नका लागि ओसिएमसीको वार्षिक कार्य योजना आवश्यक रहेको बताएका हुन् ।
श्रोत अभावका कारण कपिलवस्तु अस्पतालको ओसिएमसी आफै सङ्कटमा परेको भेटिएकाले स्थानीय तह सँगको समन्वयमा श्रोत जुटाउनका लागि समेत वार्षिक कार्य योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए ।
कार्य योजना निर्माणका कारण श्रोत नक्शांकन र बजेट व्यवस्थापनमा सहजता आउने उनले सुझाव दिए । ओसिएमसिले छिटोछरितो सेवा प्रदान गर्नका लागि संवेदनशील रहेको जनाउँदै अस्पताल भित्रै सुरक्षित आवास गृहको व्यवस्थापन हुन सके सेवा प्रवाह प्रभावकारी हुन सक्ने तौलिहवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रकाश प्रजापतिले बताए ।
ओसिएमसीको सेवा प्रवाह गर्न केही व्यवस्थापकीय समस्याका बाबजुद सेवा प्रवाह हुँदै आएको कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए । ओसिएमसीको सेवा थप प्रभावकारी बनाउनका लागि द्रुत सेवा र सुरक्षा व्यवस्थापनको विषयमा अस्पताल सँग सरोकार राख्ने निकाय बिच पूर्ववत् सूचना सम्प्रेषण आवश्यक रहेकोमा उनको जोड थियो ।
उनले अस्पतालमा ओसिएमसीको लागि उपयुक्त पूर्वाधारको आवश्यकता, फोहर व्यवस्थापनको समस्या समाधान गर्न कार्यालयको पूर्वी सडक व्यवस्थापन र खानेपानी व्यवस्थापन, घटनाका समयमा पर्याप्त सुरक्षा व्यवस्थापनको सुनिश्चितता लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
ओसिएमसीको सेवा प्रवाहका कारण सरोकारवाला निकाय बिचको सहकार्यमा सुरक्षा र गोपनीयताको सुनिश्चितताका साथ एकै स्थानबाट लैङ्गिक हिंसा प्रभावित महिला र बालबालिकाले सेवा प्राप्त गर्ने वातावरण हुने भएकाले व्यवस्थापनमा सबैको सरोकार आवश्यक रहेको जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतमले बताए ।
अहिले ओसिएमसी दयनीय रहेकाले व्यवस्थापनमा जिल्लाका सबै निकाय बिचको समन्वय आवश्यक रहेकोमा गैससं महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेयले जोड दिए ।
अस्पतालमा आधारित ओसिएमसिमा लैङ्गिक हिंसा प्रभावित महिला र बालबालिकाले तत्कालीन स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहयोग, सुरक्षा र सामाजिक पुनर्स्थापनाको सेवा प्राप्त गर्दै आएका छन् ।