Butwal Today

देवदह प्रिमियम लिग हुने

१३ भाद्र २०८२, शुक्रबार
अ+
अ-

देवदह, १३ भदौ ।

देवदहमा दोस्रो संस्करणको देवदह प्रिमियम लिग (डिपिएल) असोज १८ गतेदेखि सुरु हुने भएको छ ।

‘क्रिकेट युद्ध’ भन्ने नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबिच बढ्दो लोकप्रियता हासिल गरिरहेको क्रिकेटलाई थप व्यवस्थित र आकर्षक बनाउन डी–युनिटी संस्थाले आयोजना गर्न लागेको हो ।

गत वर्षको पहिलो संस्करणमा पाकडी प्यान्थरले उपाधि जितेको थियो भने यस पटक प्रतियोगितालाई अझ प्रभावशाली बनाउन तयारी भइरहेको आयोजकले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक गोपाल भण्डारीले युवाको खेल प्रतिभा उजागर गर्ने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले डिपिएलले स्थानीय खेलाडीलाई मात्र अवसर दिने नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने ढोका पनि खोल्ने विश्वास व्यक्त गरे । “हामीले यो प्रतियोगितामार्फत गाउँ–सहरमा लुकेर बसेका खेलाडीलाई उजागर गर्नेछौं ।

उनीहरूलाई मैदानमा उतारेर भविष्यमा नेपालको राष्ट्रिय टिममा योगदान दिने खेलाडी बनाउने हाम्रो लक्ष्य हो,” भण्डारीले भने ।
पत्रकार सम्मेलनमा संयोजक भण्डारीले खेल अवधिभरको लागि खेलाडी, अम्पायर, आयोजक, प्राविधिकको बिमा गरिने जानकारी दिए ।

हालसम्म ६ वटा टिम दर्ता भएको र उपाधि उचाल्ने टिमले नगद १ लाख र उपविजेताले ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्रको पाउनेछन् ।

यस पटकको संस्करणका लागि सहभागी ६ टोलीका माक्र्यु खेलाडी र रिटेन खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ । क्लबले जानकारी दिँदै पाकडी प्यान्थरले प्रकाश भण्डारीलाई माक्र्यु खेलाडी र रोशन गौतमलाई रिटेन गरेको छ ।

त्यस्तै भवानीपुर रोयल्सले सन्दीप अर्याललाई माक्र्यु खेलाडी र अर्जुन जीसीलाई रिटेन गरेको छ । टटेरा डाईनामाईटले सन्दीप बश्याललाई माक्र्यु खेलाडी र विवेश खातीलाई रिटेन गरेको छ भने ढेकवार योद्धाले जितेन्द्र बनियालाई माक्र्यु खेलाडी र रमेश रक्षकोटीलाई रिटेन गरेको छ ।

यसैगरी खैरेनी ग्लाडिएटर्सले कमल जैसीलाई माक्र्यु र सोनु सहानीलाई रिटेन गरेको छ भने शीतलनगर सुपर स्टाईकर्सले बिनोद क्षेत्रीलाई माक्र्यु र सचिन पाण्डेलाई रिटेन गरेको छ ।

खेलाडी दर्ता भदौ १५ देखि २५ गतेसम्म खुला रहने र असोज १ गते ‘अक्सन वार’ अर्थात् लिलामी प्रक्रिया सम्पन्न हुने बताइएको छ । त्यही आधारमा टिमहरूले खेलाडी छनोट गर्नेछन् भने वास्तविक प्रतिस्पर्धा असोज १८ गतेदेखि सुरु हुनेछ ।

आयोजक डी–युनिटीले डिपिएललाई खेलमार्फत युवा सशक्तिकरण, सामाजिक एकता र देवदहमा खेल संस्कृतिको विस्तार गर्ने एउटा महत्त्वपूर्ण पहलका रूपमा अघि बढाइने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा पूर्व अध्यक्ष अजय गुरुङ, नारायण बस्नेत र ६ वटै टिमका अनरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा डि –युनिटी क्लबका अध्यक्ष सचिन श्रेष्ठ, सचिव सुजन सिंजाली मगर लगायतका सहभागिता रहेको थियो ।