© २०२३
लमही, १३ भदौ ।
देउखुरीका थारु समुदायले यो वर्षको अट्वारी पर्व भदौ १५ अर्थात् आइतबार गते मनाउने भएका छन् । कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएका पनि देउखुरीका थारुहरु समुदायले वर्षको अट्वा एक हप्ता पछाडि मनाउन लागेका हुन ।
यहाँका ४ वटै पालिका लमही नगरपालिका ,राप्ती ,गढवा, र राजपुर गाउँपालिकाले पर्वको उपलक्ष्य सार्वजनिक बिदा दिएका छन् । लमही र राजपुरले २ दिन ,गढवा र राप्तिले १ दिन बिदा बिने निर्णय गरेका छन् ।
थारु समुदायले विशेष महत्वका साथ मनाउने अट्वारी पर्वबारे समाजभित्र विभिन्न मान्यता र प्रचलन देखिन्छन्। परम्परागत रूपमा धार्मिक आस्था, तिथि–पर्वसँग जोडिएको अट्वारी व्रतका निश्चित मानक भए पनि कतिपय स्थानमा भ्रम र हाउगुजीले यसबारे फरक धारणा फैलिएको थारु संस्कृत विद्ध छबिलाल कोपिला बताउँछन् ।
धार्मिक मान्यताअनुसार
अष्टिम्की पछिको दोस्रो आइतबारलाई बर्का अट्वारी मानिन्छ। कुसे औंशी पछिको पहिलो आइतबार पनि बर्का अट्वारी हो भन्ने परम्परा प्रचलित छ। बर्का अट्वारी पछि चौथो आइतबार बसाइने अट्वारीलाई ऐच्छिक (छुट्की) अट्वारी भनिन्छ। बर्का अट्वारीपछि पितृपक्ष लागे अट्वारी व्रत नबस्ने चलन छ। यसरी पाँच अट्वारी बस्नेहरूको अन्तिम अट्वारी कुनै वर्ष प्रभावित हुन सक्छ।
भ्रम र हाउगुजी
अष्टिम्कीपछिको दुई अठ्वार अर्थात् दोस्रो आइतबारलाई थारु समुदायले पहिलादेखि अट्वारी मान्दै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते परेको थारु संस्कृतिविद् अशोक थारुले बताए । ‘‘थारु समुदायको चाडपर्वमा तिथि मिति उल्लेख गरिएको छैन,’’ उनले भने, ‘‘पहिलाका पुर्खाहरूले अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात् (ओजरिया पहिला अट्वार) अट्वारी मनाइँदै आएका थिए, अहिले पनि त्यही नै हो ।’’
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्षसमेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते अट्वारी भएको बताए । उनले अष्टिमी पछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताए । यस्तै लेखक छविलाल कोपिलाले पनि अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाउने प्रचलन भएकाले यस वर्षको अट्वारी भदौ ८ गते अट्वारी परेको बताए ।
बर्का अट्वारी मनाउन थारु समुदायले एक हप्ता अगाडि नै तयारी सुरु गर्छन् । यो पर्वमा माछा, मासु, घोंघी, तरकारी, रोटी लगायत मिठा परिकार खाने परम्परा छ । तयारीमा माछा मारेर सुकाउने, दाउरा सङ्कलन गर्ने, तेल पेलाउने, पिठो पिस्ने, घर–आँगन सफा गर्ने र अट्वारीमा अग्रासन दिन जानका लागि ढकिया बुन्ने लगायतका कामहरू गरिन्छ ।
थारु संस्कृतिविद् अशोक थारुका अनुसार, वर्का अट्वारी जहिले पनि कृष्ण अष्टमी (अष्टिमकी) पछि १४ दिनमा आइपुग्ने आइतबारमा मनाइन्छ । यस पर्वको नाम ‘अट्वारी’ रहनुको प्रमुख कारण पनि यही आइतबार व्रत बस्ने परम्परासँग सम्बन्धित छ । यस दिनको धार्मिक महत्वका साथै यो चाडले पुर्खाहरूले मान्दै आएको परम्परालाई निरन्तरता दिन्छ । थारु समुदाय यस पर्वलाई धार्मिक र सांस्कृतिक पहिचानको रूपमा मान्दै आएका छन् ।
अट्वारीको पहिलो दिन आइतबार
अट्वारीको अघिल्लो रात, शनिवार राति २-३ बजे उठेर माछा, मासु, रोटी पकाएर दर खाने चलन छ । आइतबार दिनभरि व्रत बस्ने। साँझपख खोलामा नुहाइ-धुवाइ गरेपछि घरको बैठक कोठामा लिपपोत गरेर ‘गन्यारी’ भन्ने काठबाट आगो निकालेर भान्सा गर्ने प्रचलन रहेको छ। त्यस आगोले सबैभन्दा पहिला भ्याँवा रोटी पकाइन्छ, जसलाई ‘भेँवक रोटी’ भनिन्छ । पूजा गर्ने क्रममा प्रत्येक सदस्यले आफ्नो भागको रोटी, फलफूल आधा छुट्टाएर दिदीबहिनीहरूको लागि राख्छन्, र थोरै परिकार निकालेर भिमको नाममा आगोमा हालेर पूजा गर्छन् ।
पूजा गरेपछि घरका सबै सदस्यहरूले ठुला मान्छेबाट सुरु गर्दै साना सदस्यले रमाइलो गरी भोजन गर्ने चलन छ । निकालेको अग्रासन दिदीबहिनीहरूलाई दिन पठाइन्छ, जसलाई ‘अग्रासन’ भनिन्छ ।
अट्वारीको दोस्रो दिन सोमबार
अट्वारीको दोस्रो दिनलाई ‘फलारको दिन’ भनिन्छ । बिहान सबेरै नुहाइ–धुवाइ गरेर पुनः घरमा लिपपोत गरिन्छ र ३–७ थरी तरकारी पकाएर भोजन तयार गरिन्छ । पहिलो दिनझैँ सबै तरकारी र भातबाट आधा भाग छुट्टाइन्छ, जसलाई ‘कहार्ने’ भनिन्छ । त्यसपछि भिमको नाममा निकालिएको खाना आगोमा हालेर पूजा गर्ने परम्परा छ । पूजा सम्पन्न गरेपछि परिवारका सबै सदस्यहरूले ठुला मान्छेबाट सुरु गर्दै रमाइलो गरी भोजन ग्रहण गर्छन् ।
यस दिन थारु समुदायका विवाहित दिदीबहिनीहरू आफ्नो माइतीबाट अग्रासनको प्रतीक्षामा हुन्छन् । अग्रासन नआएसम्म उनीहरूले कुनै खाना खाँदैनन् । यो पर्वले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै वर्षमा एक पटक भए पनि भेटघाट गर्ने अवसर प्रदान गर्छ । पर्वको क्रममा छरछिमेकीबीच रहेका मनमुटाबहरू पनि बिर्सेर मिलन गर्ने परम्परा रहेको छ ।
अग्रासन: माया र सद्भावको प्रतीक
अट्वारी पर्वको एउटा महत्त्वपूर्ण पक्ष अग्रासन दिनु हो, जुन चेलीबेटीको माया, सम्मान, र माइतीसँगको सम्बन्धलाई प्रकट गर्ने परम्परा हो । अग्रासन दिनु मात्र चाडको धार्मिक अंश नभई यसले दाजुभाइ–दिदीबहिनीबिचको गहिरो प्रेमलाई देखाउँछ । चेलीबेटीहरूले अग्रासन पाउँदा निकै खुसी हुन्छन्, र माइतीबाट आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्ने चलन छ। अग्रासनले थारु समुदायको सांस्कृतिक धरोहरमा रहेको आपसी माया र सहयोगलाई अझै गाढा बनाउँछ । किन मनाइन्छ ?
अट्वारी पर्व ऐतिहासिक महत्व बोकेको पौराणिक घटनासँग जोडिएको छ । यो पर्व विशेष गरी दाङका थारु राजा दंगीशरण र महाभारतका पाँच पाण्डवहरूसँग सम्बन्धित रहेको मान्यता छ । थारु समुदायमा प्रचलित कथन अनुसार, पाण्डवहरू र दौपदी सुर्खेतको काँक्रेविहार घुम्न गएका बेला, दाङको थारु राजा दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गरेको खबर पाउँछन् ।
त्यस बेला भीमले तावामा पकाउन राखेको रोटी छाडेर भोकै पेटमा पानी समेत नखाई थारु राजाको पक्षमा युद्ध लड्न गएर शत्रुहरूलाई परास्त गरेका थिए । त्यसै विजयको सम्झनामा थारु समुदायले अट्वारी पर्व मनाउँदै आएको विश्वास छ । चाडको नाम ‘अट्वारी’ रहनुको कारण पनि यो घटना आइतबारका दिन भएको पुर्खाहरुको कथन छ । अट्वारी पर्वमा थारु समुदायका पुरुषले व्रत बस्ने प्रचलन छ ।