© २०२३
काठमाडौं, १२ भदौ।
भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ ले हार ब्यहोरेको छ ।
वर्षाका कारण खेल बीचमै रोकिँदा डकवर्थ–लुईस (डीएल) पद्धतिअनुसार नेपाल ‘ए’ १५ रनले पराजित भएको हो ।
आसामले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउँदै नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यसपछि खेल पुनः सुरु हुन नसक्दा डीएल पद्धतिअनुसार नेपाल तय स्कोरभन्दा १५ रनले पछाडि परेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९० रन बनाएको थियो । आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए ।
रोहित सेनले २४ रन जोड्दा आकाश सेनगुप्ता र अभिनव चौधरीले अन्तिम ओभरहरूमा विस्फोटक ब्याटिङ गर्दै टिमलाई उच्च स्कोरमा पुर्याए । सेनगुप्ताले ८ बलमा अविजित २४ रन तथा चौधरीले ७ बलमा अविजित २६ रन बनाए ।
आसामले आक्रामक सुरुआत गरे पनि बीचका ओभरहरूमा नेपालका बलरहरूले किफायती बलिङ गर्दै दबाब सिर्जना गरेका थिए । तर अन्तिम दुई ओभरमा सेनगुप्ता र चौधरीले ५० रनको साझेदारी गर्दै स्कोरलाई बलियो बनाएका थिए ।
नेपाल ‘ए’ का लागि आकाश चन्दले ३ विकेट लिए । विवेक यादव र कमलसिंह ऐरीले समान २–२ विकेट हात पार्दा आदिल आलमले १ विकेट लिएका थिए ।