© २०२३
समाचार सारांश
बम्घा गाउँ दूध उत्पादनमा प्रसिद्ध पकेट क्षेत्रको रूपमा चिनिन्छ ।
यहाँका अधिकांश किसानहरू पशुपालन र दूध उत्पादनमा व्यावसायिक रूपले संलग्न छन् ।
किसानले दूध बिक्रीबाट मासिक ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
गुल्मी, १२ भदौ ।
रुरुक्षेत्र गाउँपालिका–५ बम्घा जिल्लामा दूध उत्पादनको लागि मुख्य पकेट क्षेत्र मानिन्छ । बम्घाका किसानहरू पशुपालन गरेर व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आइहरेका छन् ।
किसानहरूले आफूले उत्पादन गरेको दूध बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् । किसानहरूलाई बिहान सबेरै उठेपछि साँझ अबेरसम्म गोठमै गाई भैँसीको स्याहारसुसार गर्नमा भ्याई नभ्याई बन्ने गरेको छ ।
त्यस क्षेत्रका कतिपय किसानहरूले दूध बिक्री गरेर मासिक ८० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कमाउने गर्दछन् । किसानहरूले आफूले उत्पादन गरेको दूध साँझ बिहान दैनिक रूपमा नजिकै रहेको सहकारीमा लगेर बिक्री गर्दै आइरहेका छन् ।
बम्घाका स्थानीय अगुवा किसान बाबुराम श्रेष्ठ सहकारीमा सबैभन्दा धेरै दूध बिक्री गर्ने अगुवा किसानमध्येमा गनिन्छन् । भारतीय सेनाबाट अवकाश प्राप्त श्रेष्ठले सहकारीमा दैनिक रूपमा ९० लिटर दूध बिक्री गर्दै आइरहेका छन् ।
श्रेष्ठ जस्तै अर्का अगुवा किसान महेन्द्र पुरीले पनि दैनिक रूपमा ४० देखि ४५ लिटर दूध बिक्री गर्ने गरेको बताएका छन् । दूध बिक्रीबाट पुरीले घरमै बसेर पनि मासिक एक लाख भन्दा बढी रकम कमाउँदै आइरहेका छन् ।
उनले १७ वर्ष अघि बम्घाका १८ लिटर दूध सङ्कलन गरेर व्यावसायिक रूपमा दूध उत्पादन गर्न सुरु गरेका हुन । अहिले त्यही बम्घा गाउँमा दैनिक १४ सय लिटर भन्दा धेरै दूध सङ्कलन हुने गर्दछ । दूध बिक्री गरेर त्यहाँका किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।
२०६५ सालमा मालिका गाई पालन समूह मार्फत दूध सङ्कलन गर्न सुरु गरेका त्यहाँका किसानहरूले अहिले बम्घा बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरी उक्त सहकारीले तत्कालीन गाविस र जिविस हुँदै अहिले स्थानीय र प्रदेश तहका सरकारी निकायबाट समय समयमा अनुदान प्राप्त गर्दै आइरहेको छ ।
रुरुक्षेत्र गाउँपालिका–५ स्थित बम्घामा रहेको उक्त सहकारीमा अहिले एक सय ८८ जना शेयर सदस्यहरू आबद्ध छन् । उक्त सहकारी मार्फत जोडिएर एक सय १९ जना किसानहरूले अहिले व्यावसायिक रूपमा दूधको कारोबार गर्दै आइरहेका छन् ।
सहकारीबाट सङ्कलन गरेको दूध अहिले स्थानीय ईश्वर डेरी मार्फत जिल्ला सदरमुकामदेखि जिल्लाका मुख्य बजार क्षेत्रहरूमा बिक्री हुने गरेको छ । सहकारी मार्फत किसानले प्रतिलिटर दूधको न्यूनतम ६५ देखि एक सय रुपैयाँसम्म मूल्य पाउँछन् ।
उक्त सहकारीले मासिक रूपमा ३० लाख रुपैयाँसम्म दूधको कारोबार गर्ने गरेको बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुलचन्द्र पुरीले बताए । सहकारीमा अहिले दैनिक तिन जनाले रोजगारी पाइरहेका छन् ।
बम्घामा अहिले एक सय ६० जति गाई र २० वटा भैँसी रहेका छन् । सहकारीबाट अहिले पाँच वटा व्यावसायिक फर्म र ८५ प्रतिशत व्यक्तिहरूले घरघरमै उत्पादन गरेको दूध सङ्कलन भइरहेको बम्घा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव मेघराज गिरीले जानकारी दिए ।
उनका अनुसार बम्घामा दैनिक रूपमा न्यूनतम एक लिटरदेखि अधिकतम एक सय लिटरसम्म दूध उत्पादन गर्ने किसानहरू रहेका छन् । रुरु क्षेत्र गाउँपालिकाले पनि व्यावसायिक किसानहरूका लागि आवश्यक सहयोग गर्दै आइरहेको जनाएको छ ।
किसानहरूलाई प्रविधिसँगै प्राविधिक सहयोग, बिउ, सीप र अनुदान वितरण लगायतको क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । त्यसका अतिरिक्त गाउँपालिकाले साढे तिन करोड लगानी गरेर रुरु कृषि परियोजना निर्माण गरी कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।
उनले परियोजनाबाट रुरुक्षेत्रमा किसानहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै आर्थिक संवृद्धिको यात्रामा अघि बढाउने लक्ष्य लिएको बताए ।