© २०२३
पेरिस, १२ भदौ ।
फ्रान्सले मेडागास्करलाई औपनिवेशिक कालका तीन वटा खोपडी फिर्ता गरेको छ । यी मध्ये एउटा खप्पर मालागासी राजा तोराको मानिन्छ। सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा तोराको टाउको काटेका थिए ।
त्यति बेला फ्रान्सले यसलाई ट्रफीको रूपमा पेरिस लगेर राष्ट्रिय इतिहास सङ्ग्रहालयमा राखेको थियो। बाँकी दुई वटा खोपडी सकलवा जातिको हो ।
सन् २०२३ मा फ्रान्समा नयाँ कानुन पारित भएपछि यो फिर्ता सम्भव भएको हो । यस कानुनले मानव अवशेषहरूलाई उनीहरूको मूल देशहरूमा फिर्ता गर्न अनुमति दिन्छ । यस कानुन अन्तर्गत यी खोपडीहरू पहिलो पटक मेडागास्करलाई हस्तान्तरण गरिन लागिएको हो ।
यसका साथै फ्रान्सले आफ्नो पुर्खाको अवशेष पहिलो पटक कुनै पनि देशलाई फिर्ता गर्न लागेको हो । यसपछि अष्ट्रेलिया, अर्जेन्टिनालगायत धेरै देशले पनि फ्रान्ससँग आफ्ना पुर्खाको अवशेष मागिरहेका छन् ।
अब यी खप्परहरूलाई आइतबार माडागास्कर फर्काइने छ र त्यहाँ गाडिनेछ । फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले खप्पर ल्याउनु औपनिवेशिक हिंसासँग सम्बन्धित र मानव मर्यादाविरुद्धको विषय भएको बताइन् भने मेडागास्करका संस्कृति मन्त्री भोलामिरन्ती डोना माराले यसलाई दुई देशबिचको सम्बन्धमा ‘नयाँ युगको सुरुवात’ भएको बताए ।
उनले विगत १२८ वर्षदेखि राजा तोरा र सकलवासीको खप्पर नहुँदा आफ्नो देशको मुटुमा ‘खुला घाउ’ छोडेको बताए । हाल अनुसन्धानपछि वैज्ञानिकहरूले ती खप्परहरू सकलवा समुदायको भएको पुष्टि गरे पनि ती खप्परहरूमध्ये कुनै पनि राजा तोराको हो ? त्यो भने पूर्ण रूपमा भन्न सकेका छैनन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१७ मा सत्तामा आएपछि अफ्रिकामा भएका फ्रान्सेली अत्याचार स्वीकार गर्न थालेका थिए । यस वर्षको अप्रिलमा उनी माडागास्करको राजधानी अन्टानानारिभो गएका थिए, त्यहाँ उनले फ्रान्सको अत्याचारको लागि माफी मागेका थिए ।