© २०२३
बुटवल ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टी मात्र होइन, मुलुकको आर्थिक प्रणाली समेत पुनर्संरचना गर्नु अपरिहार्य भएको बताएका छन् ।
सहिद बेपत्ता स्मृती प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि आवश्यक त्याग गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार दलहरूमा सुशासन, पारदर्शिता र चुनौती सामना गर्ने क्षमता अभाव भएकै कारण मुलुक गम्भीर संकटमा परेको छ । “लोकतन्त्र जनताको नभई , सत्तावाला दलाल पूँजीवाद र भ्रष्टहरूले कब्जा गरेको आरोप लगाए ।
उनले नयाँ पुस्ता र वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्ने बताए । “वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ,” उनले जोड दिए ।
२०७४ सालमा नेकपा गठन हुँदा जनतामा देखिएको उत्साह नेताहरूको स्वार्थका कारण धमिलिएको छ उनले भने, “झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन हुनुमा अलोकतान्त्रिक गतिविधि र वैचारिक अभाव जिम्मेवार छन् ।”
शर्माले नयाँ अभियान अघि बढाउनुपर्ने बेला सरकारमा जाने होडबाजी भइरहेको भन्दै आलोचना गरे । पार्टीलाई ‘बिर्ता’ जस्तो ठानेर व्यवहार गर्ने प्रवृत्तिकै कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको उनको भनाइ थियो ।