नवलपरासी पश्चिम् ।
पश्चिम् नवलपरासीको बर्दघाट नगर क्षेत्रका बजारहरूमा अखाद्य मासको दाल भेटिएको छ ।बर्दघाट नगरपालिकाले बर्दघाटका विभिन्न वडाहरूमा लाग्ने हाटबजारको अनुगमनका क्रममा यस्तो दाल फेला परेको हो ।
बजारमा मासको दालमा अखाद्य कालो रङ मिसिएको गुनासो आएपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा मासको दाल रङयुक्त भेटिएको बर्दघाटका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए ।
भारतीय बजारबाट सजिलो गरी खुलेयाम भित्रने यस्ता खाद्य बस्तुले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्न सक्ने देखिएको छ ।झट्ट हेर्दा राम्रो देखिने सजिलै पहिल्याउन नसकिने तर घरमा लगेर पखाल्दा दालबाट अत्याधिक कालो रङ जाने गरेको उपभोक्ताहरूको गुनासो छ ।
“पानीमा भिजाउँदा कालो रङ देखिएको छ, दाल अलि बढी चिप्लो पनि छ, अर्को कुरा दालमा अरु चिज पनि मिसावट होकि भनेजस्तो पनि छ” उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भने ।
गत सोमबार बर्दघाट १ निवासी लक्ष्मण थापा मगरले दाल किनेर लगेपछि दालमा अनौठो रङ देखिएको बताए ।”दाल किनेर लगे दाल पकाई सकेपछि त हरियो खालको घोल जस्तो अनौठो रङ देखियो बाकी दाल धोएर हेर्दा कालो रङ गयो, बोक्रा नभएको दानामा पनि रङले कालो देखिएको रहेछ, पानीले पखाली सकेपछि त सेतो भयो”उ नले भने ।
हाटबजारमा देखिएको दाललाई नगरपालिकाको अनुगमन समितिले जफत गरी नष्ट गरेको छ ।त्यस्ता दाल बिक्रेताहरूलाई आइन्दा बिक्री बितरण नगर्न सचेत गराईएको छ ।हाटबजार मात्रै होइन अन्य बजार क्षेत्रमा पनि अनुगमनलाई निरन्तरता दिइने उपप्रमुख एवम् अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्यायले बताए । कहि कतै अखाद्य बस्तु भेटिए उपभोक्ता स्वयंले समेत जानकारी गराउन उनले आग्रह गरे ।
खुला रुपमा भारतीय बजार बाट सहजै रुपमा भित्रने यस्ता अन्य खाद्य वस्तुले उपभोक्ताको स्वास्थ्य माथि नाङ्गो खेलबाड भएपनि सम्बन्धित निकायले ठोस कदम भने चालेको देखिँदैन ।