© २०२३
काठमाडौँ, ११ भदौ ।
रौतहटमा शनिबार राति सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबी शाहको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आरोपी माधव नारायण नगरपालिका–६ निवासी लक्ष्मण पासवान बिसुनपुरवा–मानपुर जाने बाटोमा गम्भीर रूपमा जलेको अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरीको टोलीले उद्धार गरी गौर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी २६ वर्षीया शाह एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् । उनको शव शनिबार सुटकेसभित्र फेला परेको थियो ।
प्रहरीका अनुसार, पासवानले शव सार्नका लागि एक इ–रिक्सा भाडामा लिएका थिए, तर गन्तव्यतर्फ जाँदै गर्दा रिक्सामा खराबी आएपछि शव सडकमै फालेर उनी फरार भएका थिए ।
शव बोक्न प्रयोग गरिएको उक्त इ–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।
हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवान केही समयअघि मात्र मलेसियाबाट नेपाल फर्किएका थिए ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।