© २०२३
काठमाडौं, ११ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णाली प्रदेशका नेता–कार्यकर्तालाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा समर्पित हुन निर्देशन दिएका छन् ।
बुधबार भर्चुअल माध्यमबाट आयोजित कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनआस्था पुनः बृद्धि भइरहेको बताए । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न षड्यन्त्र भइरहेको भन्दै सतर्क रहन आग्रह गरे ।
माओवादीको लोकप्रियता बढ्दै गइरहेकोले प्रतिक्रियावादी र दलाल शक्तिहरू आतंकित भएकाले पार्टीभित्र द्वन्द्व निम्त्याउने अनेकौं षड्यन्त्रहरू भइरहेको उनले दाबी गरे ।
अध्यक्ष प्रचण्डले गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने निर्णय स्थायी समितिले गरिसकेको स्पष्ट पार्दै, सोही मार्गमा सबै नेता–कार्यकर्ता अघि बढ्नुपर्ने बताए ।
पछिल्ला स्थानीय तह, स्ववियु, पत्रकार महासंघ तथा हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरू विजयी हुनु जनताको विश्वास पुनः माओवादीतर्फ फर्किएको संकेत भएको उनको दाबी छ ।
शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानबाट विशेषगरी शिक्षक समुदायमा व्यापक समर्थन प्राप्त भएको प्रचण्डले उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्ने प्रयास सफल बन्दै गएको जनाउँदै संगठन विस्तारलाई अझ तीव्र पार्नुपर्नेमा जोड दिए ।
बैठकमा उनले कर्णाली प्रदेशका नेता–कार्यकर्ताहरुलाई पार्टी एकता सुदृढ पार्न र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न स्पष्ट निर्देशन दिएका छन ।