© २०२३
सिन्धुपाल्चोक, ११ भदौ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा मंगलबार बिहान करेन्ट सर्ट भएर आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहान करिब ८:२० बजेतिर बिमला श्रेष्ठको नाममा दर्ता रहेको फार्ममा आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीका कारण फार्ममा रहेका जम्मा ८५ बाख्रामध्ये ५० वटा मरेका छन् भने ६ वटा घाइते र २९ वटा सकुशल छन्। आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको र हाल चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख रामेश्वर कार्की ले बताए ।
प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा करिब बिहान ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।