© २०२३
नेपालगञ्ज, १० भदौ ।
नेपालगञ्ज—जहाँ सडकको दुवै छेउँ मुस्लिम र हिन्दु घरहरू एकैपटक देखिन्छन्, जहाँ बिहान नमाजको अजान र पूजाको घण्टीको धुनसँगै सुनिन्छ । यही शहरले फेरि एक पटक धर्म फरक भए पनि चाडपर्व साझा खुसी बन्छ भन्ने उदाहरण देखाएको छ ।
यसपालिको तिज पर्व नेपालगञ्जमा केही फरक रह्यो । रातो लुगा, हातमा चुरा र निधारमा सिन्दुर लगाएका हिन्दु दिदीबहिनीहरूसँगै मुस्लिम महिलाहरू पनि दर खाने कार्यक्रममा सहभागी भए । हिन्दु महिलाले दर खान राखेका परिकारहरूको स्वाद लिन उनीहरू पनि उत्साहित थिए । “हजुरहरू रातो–रातो लुगा लगाएर, गीत गाउँदै, श्रीमानलाई स्वागत गरेर दर खानुहुन्छ। मलाई पनि रहर लाग्यो। त्यसैले सहभागी भएँ,” भन्छिन् नेपालगञ्ज–४ की ४० वर्षीया नाजमा हल्वाई । नाजमा आफ्ना हिन्दु छिमेकीसँगै सानैदेखि तिज गीत सुन्दै हुर्किएकी हुन् । उनलाई तिजका गीत विशेष गरी मन पर्छन्, जसमा विदेशिएका श्रीमानलाई सम्झेर रोएका हुन्छन् । उनी भन्छिन्, “गीत सुन्दा मन नै भरिन्छ, कहिलेकाहीँ आँसु आउँछ ।”
यस्तै, सलमा हल्वाई पनि सँधै कालो बुर्काले अनुहार लुकाउँदै आएको तर, दर खाने कार्यक्रममा रातो सलले टाउका छोपेकी थिइन् । उनी हाँस्दै भन्छिन्, “रातो कपडा लगाएर, चुरा बजाएर रमाइलो गर्न पाउनु त साँच्चै रमाइलो कुरा हो । तिज हिन्दु दिदीबहिनीको मात्रै होइन, हामी सबै महिलाको पर्वजस्तै लाग्छ ।”
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच सद्भाव र सहअस्तित्वको लामो परम्परा छ । हिन्दुहरूको दसैँ र तिहारमा मुस्लिम समुदायका केही व्यक्तिहरुले रातो टीका, जमरा लगाउने गरेका छन् भने उनीहरुले मुस्लिमहरूको इदमा हिन्दु साथी–भाइलाई सेवइँ र मिष्ठान्न खुवाउने गर्दछन् । यही पृष्ठभूमिले गर्दा यस वर्षको तिजमा मुस्लिम महिलाको सहभागिता यहाँको समाजलाई झन् रंगीन बनाएको हो । नेपालगञ्ज–१७ की बबी परियार भन्छिन्, “हामी सबै एकअर्काका चाडमा सहभागी हुन्छौं । उहाँहरूले इदमा बोलाउनुहुन्छ, हामीले तिजमा बोलाउँछौं । यसरी चाडपर्व साट्दा सम्बन्ध अझै बलियो हुन्छ ।”
आइतवार दर खाने कार्यक्रम नेपालगञ्ज घरेलु तथा साना उद्योग महासंघ नगर कमिटीकी अध्यक्ष कालीमिया कस्मीरा खातुनको पहलमा आयोजना गरिएको थियो । कार्यक्रममा करिब एक दर्जन मुस्लिम महिला सहभागी भए । हिन्दु महिलाले तिजको गितमा नाच्दा मुस्लिम महिलाहरू पनि हातमा चुरा बजाउँदै ताली थपिरहेका थिए । गीतको तालमा उनीहरूको खुशी र एकताको स्वर गुञ्जिएको थियो । आयोजक खातुन भन्छिन्, “हामी सबै महिलाको साझा खुसी हो तिज । धर्म फरक भए पनि एउटै घरजस्तो भएर रमाइलो गर्न पाउनु ठूलो कुरा हो ।”
यस्तै, नेपालगञ्ज–१ की रेणु बेल्वासे पनि मुस्लिम महिलाको सहभागिताले यसपालीको तिज अझै अर्थपूर्ण भएको बताउँछिन् । “तिज केवल हिन्दु महिलाको चाड भन्ने छैन । यो सहअस्तित्वको पर्व हो । यसले हाम्रो समाजमा एकताको सन्देश दिन्छ,” उनले भनिन् ।
नेपालगञ्जलाई ‘सद्भावको सहर’ भनेर चिन्ने गरिएको छ । यहाँ थुप्रै घटनाले यो पहिचानलाई पुष्टि गरेका छन् । समाजसेवीहरू भन्छन्, “तिजमा मुस्लिम महिलाको सहभागिता वा इदमा हिन्दुहरूको उपस्थिति केवल रमाइलो होइन, यो सहअस्तित्व र एकताको पाठ हो ।”
नेपालगञ्जको टोल–गाउँमा बालबालिकाले नै यो संस्कार आत्मसात् गरेका छन् । बालबालिकाहरूका लागि दसैँको पिङ खेल्नु र इदको सेवइँ खानु दुवै बराबरको रमाइलो हो । यही कारणले नेपालगञ्जलाई साँच्चिकै ‘फूलबारीको सहर’ भन्न सकिन्छ—जहाँ फरक–फरक धर्मका फूलहरू एउटै बगैचामा फुल्छन् । नेपालगञ्जको आकाशमा गुन्जिएका तिजका गीतहरूले यसपालि एउटै सन्देश दिए—“धर्म फरक भए पनि खुशी साझा हुन्छ ।” यस्तो सहअस्तित्व र सद्भावकै कारण नेपालगञ्ज आज पनि सिंगो देशका लागि एक उदाहरण बनेको छ ।