© २०२३
‘कहाँमा जान्छौ रानी चरी बगाल बरिलै भगवानलाई भेटन’ भन्ने तीजका गितहरू अहिले समय अनुसार परिस्कृत हुँदै गएका छन् । ‘कहाँमा जान्छौ महिलाका बगाल बरीलै अधिकार खोजन’ भनेर बर्तमान अवस्थाका महिलाले गाउँने गर्दछन् । लय र भाका एउटै भएपनि शब्दमा परिवर्तन आएकोले तीज पर्वलाई धार्मिक, साँस्कृतिक महत्वसंगै महिला सशक्तिकरणको प्रतिकका रूपमा पनि लिने गरेको पाईन्छ । हरितालिका तीजलाई सनातन संस्कृतिमा निकै महत्वका साथ मनाउने गरिन्छ । तीज पर्व हरेक वर्ष भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन मनाईन्छ । पौराणिक चलन अनुसार सौभाग्यवती वा विवाहित हिन्दु महिलाहरूले यस पर्वलाई विषेशरूपले मनाउने चर्चा सुनिन्छ । तर अहिले सबै धर्म, जाती, वर्ग, विवाहित ,अविवाहित, महिला, पुरुष सवै मिलेर एक आपसमा नाचगान गर्ने, विभिन्न परिकारहरू खाने गरि समावेशी रूपमा मनाएको देखिन्छ ।
अझ भन्नुपर्दा अहिलेको परिवेशमा महिलाहरू घरको चुलोचौको, घाँसदाउरा, मेलापात लगायतका पारिवारीक जिम्मेवारी संगै विभिन्न पेशामा संलग्न भएर आर्थिक जोहोमा जुटेका छन् । शैक्षिक तथा चेतनाको विकाससंगै अध्ययन र रोजगारीको खोजीमा महिलाहरू गाँउदेखि शहरसम्म छरिएर बसेका छन् । पेशा, व्यवसाय र सामाजिक रूपमा संलग्न महिलाहरू आफ्नो काम अनुसारको सम्बन्धित संघ संस्थामा आवद्ध भएका छन् । गाउँघरमा आगन, पिँढी,चौतारो भएपनि शहरमा यसरी खुल्ला स्थान नभएका कारण उनीहरू होटेल तथा पार्टी प्यालेसका हलमा सामूहिक रूपमा जम्मा भई खाने रमाउने गरेर तीज पर्व मनाईरहेको पाईन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई भगवान विष्णुसंग विवाह गर्ने गरिएको निर्णयबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । हरितालीकाको लोक प्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरि महिलाहरूले मनाउने पर्व हो । धार्मिकरूपमा तीजमा निराहार ब्रत बसी हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको विशेष पूजा आराधना गर्ने गरिन्छ । यो ब्रत निराहार एवं निर्जला भई रात्री जाग्राम रहि नाचगानको साथ मनाईने गरेको इतिहास रहेको छ । यसका साथै तीजमा दरकारूपमा विशेष भेटघाट, गितका माध्यमबाट दुःख सुख साटासाट गर्दै नाचगान र खानपान समेत गरेर यस पर्वलाई विशेष मनोरञ्जनका साथ मनाईन्छ । तीज पर्व नेपाल भारत लगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाउने गरेको देखिन्छ । तीजमा आफन्त र नजिकका साथीहरूलाई बोलाएर मीठामीठा परिकार आफंैले पकाएर खुवाउने प्रचनल रहि आएको छ । नयाँ कपडा, गरगहना जोरजाम गर्ने पर्वकारूपमा पनि तीजलाई लिने गरिन्छ ।
अन्य मुलुकमा भन्दा नेपाली समाजमा प्राचीनकालदेखि नै हरितालिका तीज पर्वलाई महत्वपूर्ण पर्वको रूपमा लिने गरेको पाईन्छ । विवाह भएर टाढा पुगेका छोरीचेली, भान्जीहरूलाई उनीहरूको घरसम्मै माइती, मावलीहरू लिन जाने, माइती वा मावली घरमा एकसाथ भेला हुने । यो रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, ब्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुख पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँछ । तीज पर्वलाई पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउने रूपमा पनि लिएको पाईन्छ । तर पति पत्नीबाट अलि माथि उठेर फराकिलो नजरले हेर्दा सामाजिक पक्षसंग यो पर्व जोडिएको छ । पारिवारिक रूपमा सासु बुहारी, नन्द भाउजु, दिदीबहिनी, दाजुभाईबीचको सम्बन्धलाई पनि सुमधुर बनाउन यो पर्वले सहयोग गरेको छ । यसभन्दा पर हेर्दा घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न पनि यो पर्वले झल्काउँछ । हजुर आमाहरू, फुपू दिदीहरू, सानीमा, ठूलीआमा एवं वरपरका इष्टमित्र र आफन्तहरूलाई बोलाएर खानपान तथा रमाइलो गर्दा सबैको मन प्रसन्न र आत्मीयपनको विकास हुन्छ । यसर्थ व्यवहारिक पक्षमा हेर्दा तीज पर्वले एक–आपसमा सहयोग, सहकार्य र एकताको भावना जागृत गर्दछ ।
तीजको धार्मिक महत्व :
भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान शिवजीलाई पति पाउँ भनी गरेको ब्रतबाट तीज पर्वको परम्परा चलेको पाईन्छ । पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप सबै महादेवमा केन्द्रित रहेको पाइन्छ । आफ्ना पिता पर्वतराजले आफ्नो ईच्छा विपरित भगवान विष्णुसंग विवाह गरिदिन लागेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले यो वेदना आफ्ना सखीहरूलाई सुनाईन । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरि उनलाई दरबारदेखि निकै पर एक जंगलमा पु¥याए । पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी आफ्ना सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग बनाई पूजा गर्न थालिन । ऊँ नमः शिवाय मन्त्रद्वारा भगवान शिवजीलाई प्रसन्न गराएको वरदानस्वरूप उनै भगवान शिवलाई पतिका रूपमा प्राप्त गरको भन्ने प्रचलन छ । यसर्थ पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरि शिवजी पाएको विश्वास गरिने हुनाले तीज पर्वलाई हर्षोल्लासका साथ नाचगानका साथ मनाइने गरिन्छ ।
सामाजिक महत्व :
हाम्रो देश नेपाल कृषि प्रधान देश भएकाले बालीनाली रोपिसकेपछि केहि फुर्सदको समयमा तीज पर्व मनाइन्छ । पहिले पहिले बालीनाली लगाएर हल्का भएको समय पारि बाबु वा दाजुभाई गएर छोरीचेली र उनिहरूका परिवारसंग भेटघाट गरि सकेसम्म चेलीलाई माइती लिएर फर्कने चलन रहेको पाईन्छ । यो चलन अहिले पेशा, व्यवसाय, प्रविधि, यातायात र संचारको विकाससंगै फेरिएको छ । आर्थिकरूपमा जोडिएका कामकाजी महिलाहरूलाई फुर्सदको समय भएको त्यति देखिदैन । यसर्थ फोन, म्यासेज र इन्टरनेटको प्रयोग गरि प्रत्यक्ष अनुहार हेरेर बोल्ने, सन्चो विसन्चो सोध्ने र समय मिलाएर माइती, मावली घरमा बोलाउने गरिन्छ । आपसी सदभाव, प्रेम बढाउने यो पर्वले महिला दिदी बहिनीहरूको दुखेसो र सुखेसो पोख्ने वातावरण सिर्जना गरिदिएको छ । पेशा, व्यवसाय, अध्ययन वा विवाह भएर टाढा पुगेका दिदी बहिनीहरूवीच भेट गराएर तितामिठा कुराकानी गर्ने समेत तीज पर्वले जुटाईदिएको छ । जिजु आमा, हजुरआमा, आमा, छोरीदेखि अहिलेको युवा पुस्तासम्म आईपुग्दा तीज पर्वमा आफै टुक्का बनाएर गाइने गितले व्यक्तिगत दुखेसो पोख्नेमात्र नभएर सामाजिक परिवर्तनमा पनि उल्लेखनिय भूमिका खेलेको देखिन्छ । टोल छिमेकमा दिदी बहिनीहरू जम्मा हुने, एक आपसमा कुराकानी गर्ने, छिमेकमा परेका अड्चन वाधाहरूलाई संगै मिलेर समाधान गर्ने जस्ता विषयले तीज पर्व नारी एकताको उत्सवका रूपमा समेत लिने गरिन्छ ।
साँस्कृतिक महत्व :
मानिस जति आधुनिक भए पनि उसले जन्मसंगै पाएको संस्कार एवं संस्कृति सहज रूपमा छोडन सक्दैन । नेपालमा रहेका हिन्दु समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य समुदाय र जातीले पनि मनाउन थालेको पाईन्छ । तीजलाई महिलाहरूले मात्र मनाउने भनिएपनि अहिलेको युवापुस्ताले समावेशीरूपमा सहभागीता जनाउदै रमाइलो गरेको देखिन्छ । गरिरहेको कामबाट केहि समय अवकाश लिदै परिवार, साथीभाई जमघट भई घुमघाम, नाचगान गर्ने क्रमले यो पर्वको अर्को विशेषता साँस्कृतिक महत्व बढ्दै गएको छ । बर्तमान अवस्थामा सरकारी कार्यालय, सामाजिक संघसंस्था, विद्यालय, संचार संस्था लगायतले विभिन्न विषयमा सचेतनामूलक तीजगित प्रतियोगिता संचालन गर्ने गरेको पाईन्छ । यस्ता प्रतियोगितामा नेपाली रहनसहन, भेषभुषा, बोलीचालीमा आधारित शव्दहरूको प्रयोग, अनुशासन पूर्णरूपले पालना गरिएको हुन्छ । जसले नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्दे समाज रूपान्तरणदेखि सेवा प्रवाह गर्ने निकायसम्मलाई सचेत गराउँदै नेपाली संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुगेको छ ।
तीजको पहिरन र श्रृंगारः
तीजका दिन महिलाहरूले विशेषगरि रातो साडी, चुरा, पोते, टीका, सिन्दुर, गरगहना लगाएर अघिपछि भन्दा फरक तरिकाले सजिने प्रचलन रहिआएको छ । सिन्दुर विवाहित महिलाले मात्र लगाउँछन भने अन्य बस्त्र सबै महिलाहरूले लगाउने गर्दछन् । आधुनिकताको नाममा तीज भड्किलो भनेजस्तो अति नै बढी भएको छ भन्ने पक्षमा सामाजिक अगुवा महिलाहरूको धारणा फरक रहेको पाईन्छ । केहि समय अगाडि भई नभई अरूसंग ऋण खोजेर भएपनि माइतीमा दिदीबहिनी, साथी संगिनप्लाई देखाउन महंगा साडी र गहना किन्ने प्रचलन अहिले हट्दै गएको छ । समयसंगै आम महिलाहरूमा शिक्षा र चेतनाको विकास भएको छ । परम्परा अनुसार आफूसंग जे छ त्यहि लगाउने, खाने गरेर तीज मनाएको अवस्था छ ।
निष्कर्षः
हरितालिका तीज पर्व धार्मिक, सामाजिक, र साँस्कृतिक दृष्टिकोणले अत्यन्त महŒवपूर्ण मानिन्छ । यस पर्वले महिलाहरूको शक्ति, समर्पण र एकता दर्शाउँछ । आधुनिक समयमा पनि यस पर्वको महत्व कायम राख्न हामी जुन स्थानमा छौ, त्यहिँ स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । ताकी हामी सबै मिलेर तीजको परम्परा, मूल्य मान्यता र संस्कतिलाई जोगाइराखौं । हरितालिका तीज र ऋषिपञ्चमीको पर्वले संस्कृतिमा गहिरो प्रभाव पारेको छ । जसलाई हामीले जोगाउँदै सधै सम्मान गरिहनुपर्दछ । यो पर्वले केवल महिलाहरूको जीवनमा विशेष महत्व राख्ने मात्र होईन, समग्र समाजको विकासमा पनि योगदान पु¥याएको छ । हरितालिका तीज पर्वलाई मनाउने क्रममा यसको धार्मिक, सामाजिक र साँस्कृतिक पक्षलाई ध्यानमा राख्नुपर्ने अहिलेको टडकारो आवश्यकता हो । आधुनिकता र पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागत चाडपर्वहरूको मौलिकता हराउँदै गएको देखिन्छ । यसले हरितालिका तीजको महत्व र यसको परम्परागत मूल्यहरूलाई जोगाउनका लागि समाजमा केहि चुनौतीहरू देखिएका छन् । तीज पर्व मनाउने क्रम खर्चिलो र भड्किलो भयो भन्ने कुरा यत्रतत्र सुनिने गरिन्छ । यस समस्याको समाधानका लागि स्वयम आफू, परिवार र समुदायले तीज पर्वलाई परम्परागत रूपमा मनाउने प्रयास गर्नुपर्ने देखिन्छ । यसमा विशेष ध्यान दिँदा तीज पर्वको धार्मिक, सामाजिक र साँस्कृतिक मूल्यहरूको महत्वलाई जोगाउँदै पुनस्र्थापित गर्न सहयोग पुग्दछ । हरितालिका तीजले समग्र महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै समाजमा सशक्त र समृद्ध भविष्य निर्माणमा योगदान पु¥याउँछ । यसर्थ आफ्नो गक्ष अनुसार तीज पर्व मनाउने गरौं । यस पर्वको धार्मिक र साँस्कृतिक महत्वलाई ध्यानमा राख्दै सधैंं सम्मान गर्ने वातावरण सृजना गर्नतर्फ हामी सबै लाग्नुपर्ने हुन्छ ।