© २०२३
बुटवल, १० भदौ ।
“तीज लहर आयो बरिलै, रातो सारी भुईमा कुन चाँही राम्री हामी दुईमा, पारीपारी आएका ढाका टोपी लाएका तिनै होलान हाम्रा बाबा लिन आएका, सानो भयो मादलु मादलुको पाईन मैले ताल, जस्ता मौलिक गीतले बजार तातिरहेको छ । यि गीत गुञ्जिएसँगै नेपाल मात्रै होइन जहाँसम्म नेपालीहरु पुगेका छन् ति विदेशी भूमीमा समेत यस्ता नेपाली गितहरु घन्किएका छन् ।
देशभरका गाउँदेखि शहरसम्म महिलाहरूको भीड, रातो, निलो हरियो र पहेलो रंगका साडी, हरियो चुरा, पोते र सुनका गहनाले झलमल्ल बन्छ । तीज नेपाली महिलाहरूको मात्र पर्व होइन, यो मौलिक संस्कृतिको अद्वितीय प्रदर्शन हो । आस्था, भक्ति, गीत–नृत्य र रंगीन सजावटको संगम भएको यो पर्वले नेपाली समाजलाई एकताबद्ध बनाउँछ भने विदेशी पर्यटकलाई नेपाल चिनाउने माध्यम पनि बन्न सक्छ । यही कारण, हरितालिका तीजलाई धार्मिक–सांस्कृतिक पर्व मात्र नभई पर्यटन प्रवद्र्धनको अवसरका रूपमा लिन सकिन्छ भन्ने आवाज उठ्न थालेको छ ।
धार्मिक आस्था र पर्यटनको पुल
तीजको मूल उद्देश्य भगवान् शिव–पार्वतीको पूजा र व्रतसँग सम्बन्धित छ । महिलाहरू आफ्नो दाम्पत्य जीवन सुखमय होस् भन्ने कामना गर्दै उपवास बस्छन् । यसदिन काठमाडौंको पशुपतिनाथ मन्दिर, गोरखाको मनकामना, लुम्बिनी, देवघाट, सिद्धबाबा, नरैनापुर, जनकपुर, गुल्मीको रिडी, रेसुङ्गा जस्ता धार्मिक स्थलहरूमा लाखौँको संख्यामा दर्शनार्थीको भीड लाग्छ । गीत संगितको माध्यमबाट आस्था, पवित्रता र संस्कृतिप्रतिको समर्पण समेत झल्किने यो पर्व महत्व अपरम्पार छ ।
तीजमा हुने यस्तो धार्मिक साँस्कृतिक यात्राले तीर्थ–पर्यटनलाई प्रत्यक्ष टेवा पु¥याउँछ । विदेशी पर्यटकहरू पशुपतिनाथको तीज दर्शन, महिलाहरूको झिलिमिली सजावट र नृत्य हेर्न नै आउने गर्छन् । यही दृश्यले नेपाललाई धार्मिक पर्यटनको अद्वितीय गन्तव्यका रूपमा चिनाउन सक्छ । गीत संगितको माध्यमबाट दुःख ब्यथाका कथाहरु ब्यक्त गर्ने पर्वका रुपमा मनाईदै आएको हरितालिका तीज सबैभन्दा लामो पर्वका रुपमा पनि बिकसित हुँदै गएको छ ।
संस्कृति र मौलिकताको जीवित प्रदर्शन
तीजमा गाइने गीत, नाचिने दोहोरी र सामूहिक नृत्य विदेशी पर्यटकका लागि लोभलाग्दो दृश्य हुन्छ । महिलाहरूले गाउने गीतमा समाजका पीडा, खुशी र जीवनका संघर्षका कथा झल्किन्छन् । यस्तो मौलिकता हेरेपछि विदेशीले भन्छन्, “नेपाल साँच्चिकै रंगीन संस्कृति भएको देश रहेछ ।” विश्व पर्यटन संगठनले संस्कृति र मौलिकतालाई पर्यटन प्रवद्र्धनको प्रमुख आधार मानेको छ । यसै दृष्टिले हेर्दा तीज स्वयं नेपालले विश्व सामु देखाउन सक्ने सशक्त सांस्कृतिक सम्पदा हो ।
परम्परागत पोशाक र आकर्षण
तीजकै दिन रातो साडी, हरियो चुरा र सुनका गहनाले सजिएकी हजारौं महिलाको भीड आफैंमा एक किसिमको ठुलो स्केलको फेशन शो जस्तो लाग्छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा एकैचोटी आयोजना गरिएको साँस्कृतिक पहिरन प्रदर्शनी जस्तो देखिन्छ । यो परम्परा स्वयंमा सांस्कृतिक पर्यटनको आकर्षण हो । विदेशी पर्यटकले क्यामेरा कैद गर्ने दृश्य यही हुन्छ र भन्न सकिन्छ नेपालमा अझै मौलिकता बाँचेको प्रमाण छ ।
खानपान र पर्यटन
तीजसँग दर खाने परम्परा जोडिएको छ । व्रत बस्ने अघिल्लो दिन दुध, दही, मिठाई, मासु, अचार, माछा, फलफूल, चिउरा जस्ता परिकार खाने प्रचलन छ । यसले स्थानीय बजारलाई सक्रिय बनाउँछ । आजको पर्यटन प्रवृत्तिमा ग्यास्ट्रोनोमिक टुरिजम अर्थात खानपानसँग सम्बन्धित पर्यटन लोकप्रिय बन्दै गएको छ । तीजको अवसरमा विदेशीलाई नेपाली दरका मौलिक परिकार चखाउन सक्ने हो भने, त्यो पर्यटन प्रवद्र्धनको अर्को खम्बा बन्न सक्छ ।
आन्तरिक पर्यटनमा प्रत्यक्ष फाइदा
तीजमा गाउँघरका महिलाहरू टोल–टोलमा समूह बनाएर धार्मिक स्थलमा पुग्छन् । बस, ट्याक्सी, होटल, पसलदेखि साना रेष्टुरेन्टसम्म चहलपहल बढ्छ । लुम्बिनी, देवघाट, जनकपुरमा तीजका बेला हुने भीड प्रायः मेलाजस्तो हुन्छ। यसरी, तीजले आन्तरिक पर्यटनलाई सक्रिय बनाइरहेको छ ।
तथ्यांकले बोलेको अवस्था
नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष तीज जस्ता पर्वले प्रत्यक्ष÷अप्रत्यक्ष योगदान पाउँदै आएको छ । २०२३ मा नेपालमा १० लाख १४ हजार अन्तर्राष्ट्रिय पर्यटक आए भने २०२४ मा यो संख्या बढेर ११ लाख ४७ हजार पुगेको छ । यसले महामारी पछिको अर्थतन्त्रलाई पुनःरुत्थान मात्र होइन, सांस्कृतिक पर्यटनमा निरन्तर बढ्दो आकर्षण देखाउँछ ।
पर्यटनले देशको कुल रोजगारको करिब ११.०५ प्रतिशत अर्थात ३ लाख ७ हजार मानिसलाई रोजगारी दिएको छ । यसै अवधिमा पर्यटनबाट नेपालको न्म्ए मा १.१% योगदान पुगेको छ । २०२३ मा आउने पर्यटकमध्ये करिब १३.१ प्रतिशत तीर्थयात्रा को लागि आएका थिए, जुन धार्मिक पर्व र चाडपर्वको महत्व देखाउने ठोस आधार हो ।
लुम्बिनी प्रदेशको अवस्था
सन २०२४ मा लुम्बिनीमा ११ लाख ७२ हजार पर्यटक पुगे, जुन अघिल्लो वर्षको तुलनामा करिब १७ प्रतिशतले वृद्धि हो । यसमा ७ लाख ६ हजार नेपाली पर्यटक थिए, जसले आन्तरिक पर्यटनको वृद्धि देखाउँछ । विदेशी (भारत बाहेक) पर्यटक संख्या करिब ४६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले सांस्कृतिक आकर्षण बढिरहेको प्रमाणित गर्छ । यी तथ्याङ्कले देखाउँछन् कि तीज जस्ता पर्वलाई प्रभावकारी ढंगले पर्यटनसँग जोड्न सके नेपालले ठुलो लाभ लिन सक्छ ।
महिलाको सहभागिता र पर्यटन
हुन त तीज महिलामै केन्द्रित पर्व हो । महिलाको सहभागिताले मात्र नभई, उनीहरूको मौलिक सजावट, गीत–नृत्य र एकता विदेशीलाई लोभ्याउने मुख्य आधार हो । यदि नेपालले यसलाई महिला केन्द्रित पर्यटनका रूपमा प्रवद्र्धन ग¥यो भने, नेपालमा आउने महिला पर्यटकले अझ आत्मीयता अनुभव गर्नेछन् ।
संस्कृति संरक्षण र विश्वप्रसार
आजको विश्वमा संस्कृति नै राष्ट्रको पहिचान हो । तीज जस्ता पर्वले हाम्रो मौलिक संस्कृति जोगाउने मात्र होइन, यसलाई विश्वमाझ चिनाउने अवसर पनि दिन्छ । विदेशी ब्लगर, पत्रकार, वा यूट्युबरहरूले तीजको रौनक कैद गरेर संसारभर पु¥याउँछन् । त्यो नै नेपालको सांस्कृतिक प्रचार हो । सरकारले आफ्नै संयन्त्रबाट प्रचार प्रसार गरेर प्रबद्र्धन गर्न सक्छ ।
निष्कर्ष
हरितालिका तीज केवल उपवास, गीत वा नृत्यमा सीमित छैन । यो पर्वले धार्मिक आस्था, सांस्कृतिक मौलिकता, महिलाको सहभागिता र आर्थिक गतिविधिलाई जोड्छ । उपलब्ध तथ्यांकहरूले स्पष्ट देखाएका छन् कि नेपालमा आउने पर्यटकको उल्लेखनीय हिस्सा तीर्थ र सांस्कृतिक आकर्षणकै कारण हो । यदि सरकारले तीजलाई पर्यटन प्याकेजका रूपमा प्रवद्र्धन गर्न सक्यो भने, यसले नेपालको पर्यटन आम्दानी बढाउने, रोजगार सिर्जना गर्ने, सांस्कृतिक सम्पदा जोगाउने मात्र होइन, विश्वसामु नेपाललाई अझै रंगीन र आकर्षक बनाउने छ ।