© २०२३
आज यो बर्षको हरितालिका तीज । सधै झै यो वर्ष पनि नेपाली दिदी बहिनीहरूले हर्ष र उल्लासका साथ तीज पर्व मनाउँदै छन् । तीज पर्वको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ । खासगरी शौभाग्यवती वा विवाहित महिलाहरूले यो पर्व मनाउने पौराणिक मान्यता छ । पछिल्लोसमय अविवाहित चेलीबेटीले समेत सुयोग्य बर पाइने कामनाका साथ यो पर्व मनाउने गरेको कथ्य छ । हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा–आराधनाको महत्व रहेको छ । तीजमा उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ ।
यो पर्व नेपाल, भारतलगायत हिन्दूहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाट गरि मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःख सुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउँछ । यसर्थ तीजलाई दिदी बहिनी भेट हुने माध्यमको रूपमा पनि लिने गरिएको छ । तीजको जति महत्व भएपनि यसलाई बिकृत गराउने काममा महिला दिदी बहिनीहरूकै भूमिका रहेको भन्दै आलोचना पनि हुने गरेको छ । केही महिला दिदी बहिनीले तीजलाई फेसन शोको रूपमा समेत लिने गरेका छन । गरगहना प्रदर्शन गर्ने माध्यमको रूपमा समेत यो पर्वको उपयोग गरिँदा तीजप्रति व्यंग्य हुँदै आएको छ । सहरमा खाली स्थान, पार्क र बगैचा नहुँदा महिलाहरू बाध्य भएर पार्टी प्यालेस, होटल तथा रेष्टुराँहरूमा तीज पर्व मनाउनु पर्ने अवस्था छ । यसलाई आलोचना भन्दा पनि अहिलेको यथार्थ अवस्थाको रूपमा बुझ्नु जरुरी छ ।
चाडपर्वमा रमाउने नेपाली परम्परा हो । चाडपर्वले खुसी नै लिएर आउँछन । अतः तीजको सांस्कृतिक र पौराणिक महत्वको साख गिर्न नदिई यसलाई अझै गौरवशाली वनाउने काम गर्नुपर्दछ । तीजसंगै गीतको परम्परा पनि जोडिएको छ । तिजबाट गीत संगीतलाई अलग गरिदियो भने तीजको महत्व नै ओझेलमा पर्दछ । तर, भडकिलो तीज गीतले संस्कृति संरक्षण गर्दैन । पछिल्लोसमय संस्कृति र परम्परा अनुसार मनाइने तीज लोप हुँदै गएको छ । मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परामाथि चुनौति थपिएको अवस्था छ । तीज आउनु महिना दिन अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा उच्छृंखल गीतले बजारमा ध्वनी प्रदुषण गर्दै आएका छन् । यद्यपि यो वर्ष भने त्यस्तो सुन्न र देख्ने अवस्था आएन । यद्यपि पछिल्लोसमय तीजको मौलिक मर्म बोकेका गीत लोप हुँदै गएका छन् । पुरानो भाका र लयका तीज गीत सुन्ने अवस्था एकादेशको कथा जस्तै भैसकेको छ । यो चिन्ताको बिषय हो ।
तीजका गीतमा चेलीबेटीको मर्म, दुःख, सुख, खुशी, उमंग, पीडा र बेदना अभिब्यक्त हुनुपर्दछ । अहिलेपनि मौलिक तीज गीतको लागि बिष्णु माझीकै तीज गीत कुर्नुपर्ने अवस्था छ । हरेक बर्ष विष्णु माझीको गीत रिलिज हुने दिन कुर्नुपर्ने बाध्यता साँच्चै तीज गीत संगीतको अहिलेको यथार्थ हो । अर्कोतर्फ तीजको नाममा भड्किलो फेसन प्रस्तुती र गरगहना प्रदर्शन किमार्थ सुहाउने बिषय होइन् । यस प्रकारका गतिविधिले तीजको मर्म र भावनामाथि ठेस पु¥याएको छ । तसर्थ तीज पर्वको सांस्कृतिक महत्वलाई जोगाउने दायित्व महिला दिदी बहिनीहरूको काँधमा छ । तीज पर्वको पौराणिक महत्व र यसको सांस्कृतिक गरिमालाई अझै माथि उठाउने काममा लागौं । तीज पर्वको सवै महिला दिदी बहिनीहरूमा शुभकामना ।