© २०२३
बुटवल, ९ भदौं ।
रूपन्देहीको नयाँमिलकी कल्पना अधिकारी तराई झरेको २१ वर्ष भइसकेको छ । सन्तानको भविष्यका लागि तराई आएकी उनले तीज पर्वमा आएको परिवर्तनलाई गाउँका चौतारासँग तुलना गर्दै सुनाइन् । उनका अनुसार, केही वर्ष अघिसम्म घर–आँगनमा रमाइलो गर्दै नाच्ने–गाउने तीज आजभोलि कोठाभित्र मात्र सीमित भएको छ ।
पहिले पुराना भाकाहरू गाउँदै आफन्त र गाउँभरिका मानिस जम्मा भएर रमाइलो गर्ने चलन थियो । साउने सक्रान्तिदेखि नै बेलुकीपख तीजका भाका गाउने प्रचलन रहँदै आएको थियो । तर आज त्यो अवस्था छैन । अहिले दरको नाममा तीज होटल र पार्टी प्यालेसभित्र सीमित भएको उनको भनाइ छ ।
गाउँघरका चौताराहरू हराए । बसाइँसराइँले गर्दा विभिन्न ठाउँका मानिस आए–गए तर सबैको मन मिलेन । गीत गाउँदा पनि कसैलाई असर पर्छ कि भन्ने अवस्था आयो । ‘अनि यस्तोमा पुरानै तीज कहाँ देख्न पाइन्छ र ?’ उनको प्रश्न थियो ।
कल्पना अधिकारी मात्र होइन, ६५ वर्षकी सिता न्यौपानेलाई पनि तीजमा आएको परिवर्तन अचम्म लाग्छ । तर उनी यसलाई समयको माग मान्छिन् । उनको तर्क छ–समाजले सबै कुरामा परिवर्तन चाहन्छ भने पर्वलाई पनि त्यसैगरी स्वीकार गर्नुपर्छ । उनी भन्छिन्, ‘पहिले गाउँका चोक–चोकमा चौतारामा जम्मा भई गीत गाउने चलन थियो । तर आजभोलि त्यस्तो छैन ।’
बाटा फराकिला बनाउने नाममा चौताराहरू मासिए । चौतारा निर्माणतर्फ कसैले ध्यान दिएन । अनि चौतारामा तीजका भाका सुनिँदैन भनेर मात्र गुनासो गरेर हुन्छ र ? समाजको संस्कृतिलाई बचाउन सामाजिक काम पनि गर्नैपर्छ । “सैनामैना नगरपालिकाकी सृजना भट्टराई भने तीजमा विकृति आयो भन्ने कुरामा सहमत छैनन् । उनको भनाइमा, ‘खै, विकृति कहाँ आएको हो ? मैले त महसुस गरेको छैन ।’ उनले तीज मनाउन थालेको समय सम्झँदै भनिन्, ‘तीज भनेको खाली रातो पहिरन लगाउने, नाच्ने र गाउँदै खाने–पिउने पर्व मात्रै होइन, यो समय र परिवेशसँगै परिवर्तन भएको संस्कार हो । चौतारा वा आँगनको विकल्पमा आज पार्टी प्यालेस भएपनि त्यो समयको माग हो । संस्कारमा भने परिवर्तन आएको छैन । पहिले साउन १ गतेदेखि नै तीज सुरु हुन्थ्यो । स्थान र भाकामा फरक भएपनि समयसँगै आएका परिवर्तनलाई हामीले स्वीकार गर्नैपर्छ ।’
हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको लागि महŒवपूर्ण पर्व हो । भाद्र शुक्ल पक्षको तेस्रो दिन मनाइने यो पर्वले सांस्कृतिक र धार्मिक दुवै अर्थ बोकेको छ । पारिवारिक समर्पण, पतिपरायणता र धार्मिक आस्थाको प्रतीक मानिने तीज पर्वले महिलाहरूको जीवनमा विशेष स्थान ओगटेको छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको श्रीमान पाउन गरेको तपस्या हो । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसेकी थिएन । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको भन्ने प्रचलन छ ।
त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै भन्ने मान्यताहरू रहेका छनन् ।
आजपनि धेरै हिन्दू विवाहित नारीहरू आफ्ना श्रीमानको लामो आयुका लागि र अविवाहितहरूले राम्रो श्रीमान पाउनका लागि निराहार वर्त बस्ने गर्दछन् । आज (मंगलबार) विभिन्न स्थानमा राता पहिरनमा सजिएर नाच्ने गाउने र रमाएर यो पर्व मनाउने गर्दछन् ।