Butwal Today

सूचिकृत संस्थाबाटै तीन सय जना महिलाले गरे गर्भपतन

९ भाद्र २०८२, सोमबार
अ+
अ-

सल्यान, ८ भदौ– सुरक्षित गर्भपतनका लागि सल्यानमा जिल्ला अस्पताल सहित ९ वटा स्वास्थ्य संस्था अनुमति प्राप्त छन् । यी स्वास्थ्य संस्थाहरूबाट एक बर्षको अवधिमा तीनसय ११ जना महिलाहरूले गर्भपतन गराएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार २० वर्ष मुनिका ११ जना महिला र २० वर्ष माथिका तीन सय जना गरेर तीनसय ११ जना महिलाहरूले सुरक्षित गर्भपतन गराएका हुन् । आर्थिक वर्ष २०८१/०८२ मा अनुमति प्राप्त स्वास्थ्य संस्थाहरूबाट औषधि तथा साधारण उपकरणको माध्यमबाट महिलाहरूले १२ हप्तासम्मकोे गर्भपतन गराएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए ।

गर्भपतनका लागि सल्यान अस्पताल र अन्य सातवटा स्थानीय तहका आठ स्वास्थ्य संस्था सूचिकृत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । सूचिकृत स्वास्थ्य संस्था बनगाड कुपिण्डे नगरपालिका स्थित देवस्थल स्वास्थ्य चौकीबाट सबैभन्दा बढी १०२ जना महिलाले गर्भपतन गराएको कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीले जानकारी दिइन् ।

यस्तै जिल्ला अस्पताल खलंगाबाट ९९ जना, दार्मा गाउँपालिकाको दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ४० जना तथा बागचौर नगरपालिकाको शिवरथ स्वास्थ्य चौकीबाट १८ जना र कोटबारा स्वास्थ्य चौकीबाट १३ जना महिलाहरूले सुरक्षित गर्भपतन गराएका छन् । शारदा नगरपालिकाको खलंगा स्वास्थ्य चौकीबाट १७ जना, मार्के स्वास्थ्य चौकीबाट १४ जना, कपुरकोट गाउँपालिकाको आधारभूत

अस्पतालबाट सात जना र छत्रेश्वरी गाउँपालिकाको आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखोलाबाट एकजनाले गर्भपतन गराएको निरीक्षक शाहीले जानकारी दिइन् ।
यद्यपि सूचिकृत स्वास्थ्य संस्थामा मात्र नभई अन्य ठाउँमा पनि महिलाले गर्भपतन गराउने गरेको देखिन्छ । विभिन्न कारणले महिलाहरूले अझै पनि निजी क्लिनिक, मेडिकल पसल वा घरमै औषधि सेवन गरेर गर्भपतन गराउने गरेको पाइन्छ । लाज र गोपनीयताको चाहना तथा विवाहपूर्व वा सामाजिक परिस्थितिबाट उत्पन्न गर्भलाई लुकाउन हतारमा असुरक्षित वा गैरसूचिकृत बाटो रोज्ने गरेको जानकारहरू बताउँछन् ।

सुरक्षित गर्भपतन सेवा कानुनले मान्यता दिएता पनि सेवाग्राही महिलाहरूलाई सेवा कुन स्वास्थ्य संस्थामा उपलब्ध छ र कुन समयावधीमा सुरक्षित गर्भपतन गर्न सकिन्छ भन्ने बारे जानकारी नभएको कारणले पनि यस्तो समस्या देखिएको स्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक शाहीको भनाइ छ । “सुचिकृत नभएका निजी अस्पताल तथा मेडिकलबाट सेवा लिँदा हुन सक्ने सम्भावित जटिलतालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित अस्पताल तथा मेडिकलहरुले सुचिकृत संस्थामा पठाउनुपर्छ । यसमा स्थानीय तहले पहल गरी अगुवा भूमिका निर्वाह गर्नसके भने असुरक्षित गर्भपतनबाट हुन सक्ने जटिलता तथा मृत्यु न्यूनीकरण गर्न सकिन्छ,” उनले भनिन् । जिल्लामा १२ हप्तासम्मको गर्भपतन गर्नका लागि मात्रै स्वास्थ्य संस्थाहरूले अनुमति पाएका छन् । त्यो भन्दा माथिको गर्भपतनका लागि जिल्ला बाहिर नै जानुपर्ने बाध्यता छ ।

चिकित्सकहरूका अनुसार असुरक्षित गर्भपतन गराउँदा तत्कालको असर गर्भपतन पूर्ण रूपमा नभई बढी रगत बग्ने, पाठेघरमा संक्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नु पर्ने अवस्था आउन सक्ने, महिलाको मृत्यु समेत हुन सक्ने तथा पछिसम्म हुन सक्ने समस्याहरूमा तल्लो पेट दुखिरहने, बाँझोपन हुने र पाठेघर नै फाल्नुपर्ने अवस्था आउने हुन्छ । जथाभावी गर्भपतन गर्नाले महिलाको ज्यानै समेत जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अनिच्छित गर्भधारणको कारणले भैरहेको गर्भपतनको संख्यामा कमी ल्याउन सबैलाई पहुँच हुने गरी गुणस्तरिय परिवार योजना परामर्श तथा सेवा उपलब्ध गराउनु पर्छ । असुरक्षित तथा गैर कानुनी रूपमा भईरहेको गर्भपतनलाई निरुत्साहित गर्नु पर्दछ । यसका लागी गर्भपतन सेवाले कानुनी मान्यता पाइसकेको कुरा, सुरक्षित गर्भपतन सेवाको उपलब्धताको बारेमा साथ साथै गर्भपतन सम्बन्धी सामाजिक लान्छना र हेयभावको दृष्टिकोण हटाउनका लागी समुदायस्तरमा सचेतनाको खाँचो देखिन्छ ।