© २०२३
नेपाली भाषामा सुन्दा उस्तै उस्तै लाग्ने तर अर्थचाहिँ भिन्न भिन्न भएका दुईवटा शब्दहरू रहेका छन् । ती मध्ये एउटा कृतज्ञ हो भने अर्को कृतघ्न हो । यी शब्दहरू सुन्दा त एउटै जस्तो भएको लाग्छ तर अर्थ भने ठ्याक्कै उल्टो छ । कसैले आफुलाई सहयोग गरेको छ भने उसलाई धन्यवाद दिनु, उसले आफुलाई गरेको गुनको साटो शब्द या कार्यबाट आभारी हुने प्रक्रियालाई कृतज्ञ हुनु भनिन्छ । कृत भनेको यहाँ कसैलाई केही उपकार गरेको भन्ने अर्थ हो भने ज्ञ भनेको अर्थ चाहिँ जान्नु हो । त्यसैले कृतज्ञ भनेको आफुलाई कसैले केही गरेको छ भने उसले गरेको सहयोगलाई ज्ञ भनेको जानी शब्द या व्यवहारका माध्यमले आभार प्रकट गर्नु भन्ने हो । त्यस्तै कृतघ्न भन्ने शब्दभित्रको कृत भन्ने शब्दको अर्थ यहाँ पनि कसैलाई सहयोग गरेको भन्नु हो भने घ्नको अर्थ चाहिँ काट्नु, मार्नु, विर्सनु भन्ने हो । यसरी शब्दार्थ गर्दा कसैले आफुलाई गुन गरेको छ भने त्यसका बदलामा उसका गुनहरूलाई विर्सेर वैगुन गर्नु नै कृतघ्न हुनु हो । कृतघ्नता भनेको कृतघ्न हुनुको भाव हो । यस्तै परिभाषाले अलङ्कृत कृतघ्नहरूले बेलाबेलामा धेरैलाई दुःख दिने गरेका छन् । कसैले आफुलाई गरेको गुनको वदलामा दिने कृतघ्नता सायद रौरब नरकभन्दा पनि अलि ठूलै नर्कमा लैजाने कुकार्य मात्र नभएर यही जन्ममा नै राम्रैसँग फल देखाउने कार्य पनि हो । तर पनि मानिसहरूले यस्तो हुँदाहुँदै पनि यसलाई त्याग्न भने सकिरहेका देखिँदैनन् ।
नेपालको राजनीतिमा केही समय अघिदेखिको एउटा समाचारले केही हामीलाई अचम्म तुल्यायो । हालसालको नेपालको संविधानको व्यवस्था अनुसार नेपालमा सबैभन्दा उच्च पदस्थ भनेर राष्ट्रपतिलाई जानिन्छ । त्यो राष्ट्रपति पद प्राप्त गरिसकेपछि पनि कोही पुनः राजनीतिमा फर्कन्छु भन्यो भने त्यो सबैलाई आश्चर्यको विषय नै हुन्छ । नेपालमा राजनीति गर्नु भनेको फाइदाका लागि मात्र हो भन्ने देखिएकाले पनि हामीलाई यस्तो भएको होला । नभए इजरायल लगायतका देशहरूमा प्रधानमन्त्री पनि कहिले सामान्य मन्त्री बन्ने परम्परा छ । किनकि त्यहाँका नेताहरूको उद्देश्य भनेको फाइदाभन्दा पनि देशसेवा रहेको छ । त्यसैले उनीहरूलाई माथिल्लो या तल्लो पदले सम्मानमा केही फरक पार्दैन । तर अहिलेसम्म देखिए अनुसार त नेपालमा राजनीति गर्नु त पदप्रतिष्ठा र कमाइका लागि नै हो भन्ने नै देखिएको छ । त्यसैले प्रसङ्गअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पुनः राजनीतिमा फर्कने कुराले नेपाली जनताले उहाँलाई पनि त्यत्रो राष्ट्रपति पद प्राप्त गरिसकेपछि पनि कत्रो लोभ हो भन्ने हिसाबले नै विश्लेषण गरे । यसमा जनताको दोष भन्दा पनि नेताहरूकै दोष हो । ठिक छ राजनीतिमा आउनु नआउनु त्याग देखाउनु या लोभ गर्नु उहाँभित्रै रहेको विषय हो । तर उहाँ जसरी आउन खोज्नुभएकामा भने केही कृतघ्नताको झल्को आएकाले यहाँ विश्लेषण गर्न खोजिएको हो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मदन भण्डारीकी पत्नी भएको कुरा त सबैलाई थाहा भएको नै विषय हो ।
विशेषगरेर उहाँले पहिलोपटक सांसद भएर राजनीतिमा प्रवेश गर्दा यही कारण नै उहाँको टेकोको रूपमा थियो । मदन भण्डारीकी विधवा र तात्कालिक अवस्थामा काङ्ग्रेसलाई मदन भण्डारीका हत्याराका रूपमा प्रस्तुत गरेर नेपाली काङ्ग्रेसका नेता पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई उहाँले पराजित गर्न सफल हुनुभएको थियो । उहाँ राजनीतिमा प्रवेश गरिसकेपछि उहाँभन्दा केही पुराना महिला कार्यकर्ताहरू समेत पछि परेका थिए । मदन भण्डारीसँगै दुर्घटनामा परी निधन भएका एमाले नेता जीवराज आश्रितकी विधवा माया ज्ञवालीलाई सांसद पदमा निर्वाचित गरे पनि अरू धेरै पदीय फाइदामा पार्टीले राखेन । पार्टीदेखि सरकारसम्म पूर्व राष्ट्रपति विद्या भण्डारीको हालीमुहाली हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको राम्रै हात थियो भन्ने कुरा एमाले वृत्तबाटै आउने गरेको छ । अझ २०७२ मा राष्ट्रपति बनाउने मात्र नभएर अर्को कार्यकालका लागि पनि निर्वाचित गराउने हात केपी शर्मा ओलीकै थियो भन्ने त लगभग सबैलाई अनुभव भएको विषय हो । तर, अहिले केपी शर्मा ओलीले विद्यालाई गरेको गुनको उपहार पूर्व राष्ट्रपतिले वैगुनी भएर दिइरहेको देखिएको छ । उहाँ आफ्नै कार्यक्षमताले कसैको सहयोगविना नै त्यो स्थानमा आएको भनेर प्रचार गर्नुभएको छ । प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रूपले उहाँका प्रत्येक कार्यक्रममा ओली निशानामा परिरहनुभएको छ । उहाँहरूको पार्टी र स्वभावका कुरालाई लिएर यहाँ प्रधानमन्त्री ओलीजीको प्रशंसा या खण्डन एवम् पूर्व राष्ट्रपतिको पनि प्रशंसा या खण्डन गर्न यहाँ खोजिएको हैन । यहाँ त जसले जसलाई जसरी भए पनि उनीहरूले गर्ने गरेको कृतघ्नताको उदाहरण दिइएको मात्र हो ।
त्यस्तै भरखर भारतमा घटेको घटना पनि यस्तै प्रकृतिको हो भनी जानकारहरू बताउँछन् । भारतीय उपराष्ट्रपति जगदीप धनखडले राजीनामा दिनुपरेको पनि उनको कृतघ्नता संसदमा देखिएकाले हो भन्ने भनाइ रहेको छ । सायद उनले राजीनामा नदिएको भए त्यहाँको राजनीतिमा केही गरमागरम अवस्था आउने सम्भावना थियो भन्ने भनाई राजनीतिक विश्लेषकहरूको रहेको छ । सन् २००३ पछि मात्र भारतीय जनता पार्टीमा प्रवेश गरेका उनलाई पनि भाजपाले धेरै फाइदाका पद दियो । त्यतिले मात्र नपुगेर उपराष्ट्रपति समेत बनायो । तर उनले भने यो गुनलाई विर्सेर संसदमा झण्डै वैगुनरूपी उपहार दिइसकेका थिए । तर पनि अमित साहजस्ता कुटनीतिज्ञका अगाडि उनको केही लागेन र स्वास्थ्यका कारणले भन्दै राजीनामा दिनुप¥यो भन्ने छ । यस्तै खालको वैगुनी काम भरखर अमेरिकाले भारतलाई पनि गरेको छ । पुरानो मित्रराष्ट्र भारतलाई उसले अनावश्यक भन्सार बृद्धि गरी कृतघ्नताको उदाहरण प्रस्तुत गरेको हो । त्यस्तै स्थापनाकालदेखि नै सहयोगीका रूपमा रहेको भारतलाई वंगलादेशले पनि गुनको वदला वैगुन दिएको छ । यी त भए सबै राजनीतिका कुरा । तर हामीले हाम्रो व्यवहारमा पनि त्यस्तै कृतघ्नहरू देख्ने गरेका छौँ । धर्म गर्छ या ईश्वर पुजन गर्दछ भनेर पनि हुँदो रहेनछ ।
ईश्वर पुजन त रावण र कंशले पनि गर्ने गर्दथे । तर काम भने उनीहरूको गलत थियो । कसैको घरमा बस्यो, पढ्यो अनि केही समयपछि सहयोग र धन्यवाद त कता हो कता ‘तेरा घरमा म के खान नपाएर आएको थिएँ र’ भनी निर्लज्ज मानवले जवाफ फर्काउँछ । कसैसँग पैसा सापट लियो तर तिर्ने बेला हुँदासम्म थाहा नै छैन । पैसा दिएको मानिस गएर पैसा माग्दा ‘तेरो म खाइदिन्छु र के’ ‘त्यति पैसामा नि कति किचकिच गर्छस् के’ ‘तेत्रो व्याज त बुझाएँ त अब पनि के खोजेको छस् र’ इत्यादि के के कुरा गर्दछ गर्दछ त्यो कृतघ्न मनुवाले । अझ अहिले व्यापक समस्या त लोग्ने स्वास्नीको सम्बन्धमा रहेको छ । घरका विभिन्न समस्याका बाबजुद पनि स्वास्नीलाई पढाउँछ, जागिर खुवाउँछ । अनि आफु योग्य भएपछि श्रीमतीको पहिलो कदम डिभोर्स हुन्छ । लज्जासहित भएर असल गृहिणी हुन भन्दा निर्लज्ज गणिका बन्न उसलाई राम्रो लाग्छ । यस्तैगरेर कसैले फेरि विदेश गएर कमाएको लोग्नेको पसिना उडाएर अर्कैसँग हिँडिदिन्छन् । त्यस्तै असल महिला पनि यसबाट पीडित नै छन् । पति परमेश्वर मानेर घरमा दुःख गरी बसेर घर धानिरहेकामा श्रीमान् फेरि अर्कैसँग रमाउने खालको व्यवहार देखाउँछ । त्यसैले यस्ता खालका कृतघ्नताका व्यवहार राजनीति क्षेत्रमा मात्र नभएर व्यावहारिक जीवनमा पनि घटिरहेका हुन्छन् । मानव समाज यसरी विग्रिरहेको छ कि सायद कलियुगको भनेको यस्तै रहेछ कि क्याहो भन्ने अवस्थामा सज्जनहरू छन् । उनीहरूले राम राम भन्नुबाहेक केही विकल्प नै छैन । तर पनि माथि भनिएअनुसार जैसे कर्म वैसे फल चाहिँ पाएको देखिएको छ । तर समय चाहिँ कति लाग्छ भन्ने मात्र हो ।