© २०२३
बर्दघाट, ९ भदौ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित सुखौरामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय तथा वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले संयुक्त रूपमा १ सय १२ जनालाई जग्गाको निस्सा वितरण गरेका हुन् ।
बर्दघाट नगरपालिकाले वडा नम्बर ५ बाट सुरु गरेको जग्गा नापजाँच कार्य तीव्र गतिमा अघि बढिरहेको छ । नगरप्रमुख श्रेष्ठका अनुसार वडा नम्बर ४ मा नापजाँच कार्य सम्पन्न भइसकेको छ भने चालू आर्थिक वर्षभित्र नगरका सबै १६ वटै वडाहरूमा नापजाँच कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।
श्रेष्ठले भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने कार्यलाई नगरपालिका प्राथमिकताका साथ अघि बढेको बताए । उनका अनुसार, नगरपालिकाले आफ्नै स्रोतबाट आवश्यक प्राविधिक जनशक्ति परिचालन गरी भूमि आयोगको समन्वयमा नापजाँच कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ ।