© २०२३
बुटवल, ८ भदौ ।
प्युठानका बल बहादुर रजाली विगत पाँच वर्षदेखि श्रीमती पूर्णकला रजालीको उपचारमा खटिएका छन् । श्रीमतीलाई मृगौलाको समस्या देखिएसँगै उनी बुटवल झरे । उपचार शुरु गरे । दुबै मृगौला खराब भएको थाहा लाग्यो । बिकल्प देखियो डायलासिस । लुम्बिनी प्रादेशिक अस्पतालमा डाइलासिस गराउनुपर्ने हुँदा उनले इट्टाभट्टीमा कोठा लिए । उपचारमै उनको पाँच वर्ष बितिसक्यो । उनी आफू ज्यालादारी काम गर्दै श्रीमतीको उपचार खर्च जुटाएका छन् । ‘धेरै ठाउँ लगियो, उपचारमा धेरै खर्च भयो,’ उनले भने । शुरुका वर्षमा केही सहयोग जुटेको उनले स्मरण गरे । ‘पैलापैला सहयोग भएको थियो, विदेशबाट र गाउँबाट समेत सहयोग जुट्यो,’ उनले भने । गरिबदुःखीलाई सरकारबाट आवश्यक सहयोग भएमा धेरै राम्रो हुने उनको तर्क छ । करिब १२ लाख रूपैयाँ बढी खर्च उपचारमा भैसकेको बताउने उनले मृगौला प्रत्यारोपणको प्रयास पनि गरेको बताए । ‘दुई छोरीको बिहे भैसक्यो, एउटा छोरा र म काम गरेर उपचार खर्च जुटाउँदै आएको छांै,’ उनले भने ।
यता अर्घाखाँची घर भई शंकरनगर बसोबास गर्ने ईन्द्र बहादुर नेपालीको पीडा पनि उस्तै छ । २२ वर्षदेखि सुगर, प्रेसरका बिरामी उनको चार वर्षअघि मुटुमा समस्या देखिएपछि भारतमा अपरेसन भयो । एकपछि अर्को स्वास्थ्य समस्या देखियो । ससुराबाको उपचारमा खटिएकी मनिषा रुचालले मृगौलाको २ वर्षदेखि औषधि उपचार र अहिले डायलासिस गर्दै आएको बताईन । डायलासिसको लागि अस्पतालमा पालो कुर्न कठिन हुने गरेको उनले दुखेसो गरिन् । ‘पालो आउन गाह्रो हुने र मध्यरातमा बिरामीलाई घर ल्याउन कठिन हुन्छ,’ उनले भनिन् । अहिलेसम्म करिब १२ लाख रूपैयाँ बढी खर्च भएको उनले बताईन ।
माथिको दुई जना मृगौलाका बिरामीहरू पात्र मात्र हुन । अहिले रूपन्देहीमा दैनिक ३ सय बढीको डायलासिस हुदै आएको छ । रूपन्देहीमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, क्रिमशन अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, युर्निभर्सल कलेज अफ मेडिकल साईन्सेज तथा शिक्षण अस्पताल (युसिएमएस) मा निःशुल्क डायलोसिस हुन्छ । सरकारमा सुचिकृत भएका अस्पतालमा निःशुल्क डायलोसिस सेवा दिँदै आएको छ । बेलाबेला सरकारबाट समयमा नै अस्पताललाई उपचारबापतको शुल्क भुक्तानीमा समस्या देखिने गरेको छ ।
नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेत भने प्रत्येक वर्ष मृगौला बिरामीको संख्या बढ्दै गएको बताए । सरकारबाट मृगौला पीडितको उपचारमा सहयोगसँगै मृगौला रोगको रोकथाममा अभियान चलाउन जरुरी रहेको बताए । ‘सरकारले रोकथाममा ध्यान दिन जरुरी छ,’ उनले भने । मृगौलाको सुरक्षाबारे नागरिकमा सचेतना जगाउने गरि कार्यक्रमका साथै वर्षेनी मृगौला परिक्षणका कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको उनी बताउँछन । बिशेषगरि खाडी मुलुकबाट फर्किएका ब्यक्तिमा मृगौलाको धेरै समस्या देखिँदै आएको उनले बताए । खाडी मुलुकको जीवनशैली, तापक्रम, नुनजन्य पदार्थ र मदिराको अत्याधिक सेवन जस्ता कारणले मृगौला खराब हुने गरेको उनले बताए ।