© २०२३
बुटवल ।
रुपन्देही क्षेत्र नं–३ अहिले चुनावी चर्चामा तातिएको छ । यस क्षेत्रलाई घण्टीमय बनाउँदै अगाडि बढेका व्यक्ति हुन् — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति मधु प्रसाद अर्याल । उनले आफूलाई “क्षेत्रले खोजेको उम्मेदवार”का रूपमा प्रस्तुत गरेका छन् ।
अर्यालको राजनैतिक यात्रा रास्वपाको स्थापनाकालसँगै सुरु हुन्छ । सुरुमा जम्मा ५ सय सदस्य रहेको संगठनलाई उनले आफ्नै सक्रियतामा २८ सयमा पुर्याएका छन् । गत चुनावमा संगठनविहीन अवस्थामै समानुपातिकतर्फ १४ हजार मत ल्याएको रास्वपाले अब ३४ वडामा मजबुत संगठन बनाइसकेकाले यसपटक १५ हजार मतान्तरले जित्ने उनको दाबी छ ।
तर मधु अर्याललाई केवल संगठनका नायकका रूपमा मात्र सीमित गर्न मिल्दैन । उनी अभियन्ता, लेखक र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता पनि हुन् । बालबालिकाको क्षेत्रमा १५ वर्षदेखि काम गर्दै आएका उनले संवेदनशील विषय ‘अटिजम’मा विद्यावारिधि गरेका छन् । विश्वविद्यालयमा प्राध्यापन, कक्षा ११–१२ को अनिवार्य नेपाली पुस्तकमा सहलेखन र टाकुरिएका नामक कविता संग्रहमार्फत उनले शैक्षिक र साहित्यिक योगदान पनि दिएका छन् ।
राजनीतिमा भने उनी सपनाभन्दा बढी व्यवहारिक योजनासहित उत्रिएका छन् । “भ्रष्टाचार अन्त्य, सुशासन र जनताका मुद्दा संसदमा सशक्त रूपमा उठाउने मेरो प्राथमिकता हो,” उनी भन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन, लुम्बिनीलाई विश्व–स्तरको आध्यात्मिक पर्यटन गन्तव्य बनाउने, कृषि व्यवसायीकरण गर्ने र उत्पादनलाई बजारसम्म पुर्याउने—यी अर्यालका मुख्य एजेण्डा हुन् ।

उनले नदी दोहन, ढुंगा–गिटी चोरी र तस्करीलाई नियन्त्रण गर्न कडा नीति ल्याउने प्रतिबद्धता जनाएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको मागमा पार्टी सभापति रवि लामिछानेसँगै पैदल यात्रा गरेका, भूकम्पपीडित क्षेत्रमा उद्धार–राहतका लागि अग्रपंक्तिमा खटिएका अर्याल अन्तर्राष्ट्रिय स्तरमै पनि सक्रिय छन् । बेल्जियम र पोल्याण्डमा समेत उनले संगठन विस्तारमा योगदान दिएका छन् ।
रुपन्देही–३ बाट रास्वपाको टिकटका लागि ९ जनाले दाबी गरे पनि, संगठन विस्तार र जनसंपर्कका हिसाबले मधु अर्यालको नाम बलियो सुनिँदैछ । उनी ठूला सपनाभन्दा ठूला काम गर्ने प्रतिबद्धता बोकेर चुनावी मैदानतर्फ उत्रिएका छन् ।
रुपन्देही–३ का मतदाताले उनलाई कस्तो साथ दिन्छन् भन्ने प्रश्नले अबको उपनिर्वाचनलाई झन् रोचक बनाएको छ ।
अर्यालले पार्टी सभापति रवि लामिछानेविरुद्ध गरिएको राज्यको ‘प्रतिशोधपूर्ण’ कार्यवाहीविरुद्ध रुपन्देही–३ मा मात्रै ४० हजार बढी हस्ताक्षर संकलन भइसकेको जनाउँदै यसले जनतामा रास्वप्रति उच्च विश्वास र ऊर्जा रहेको प्रस्ट भएको बताए । “जनताले रास्वपाबाट परिवर्तनको ठूलो आशा गरेका छन्, अहिले क्षेत्र चुनावी माहोलमै रास्वपामय बनेको छ,” उनले भने ।
अर्याल पार्टी अभियानमा लगातार सक्रिय छन् । नारायणगढ–बुटवल सडक विस्तारको मागमा पार्टी सभापति लामिछानेसँगै पैदल यात्रा गरेका उनले जाजरकोट–रुकुम भूकम्पको बेला उद्धार तथा राहतमा समेत अग्रणी भूमिका खेलेका थिए । स्वदेश मात्रै होइन, बेल्जियम, पोल्याण्ड र युरोपका विभिन्न सहरमा समेत उनले संगठन विस्तारमा योगदान दिएका छन् ।
रुपन्देही–३ बाट रास्वपाको टिकटका लागि अर्यालसहित ९ जना आकांक्षी छन् । अन्य आकांक्षीमा शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन् । तर, संगठन विस्तार र क्षेत्रीय प्रभावका आधारमा अर्यालको दाबी बलियो देखिएको छ ।