© २०२३
बर्दिया, ८ भदौ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–७ स्थित कण्ठपुर चेकपोस्टबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ का २१ वर्षीय भुपेन्द्र कुमार थारू र ३२ वर्षीय सन्जय दत्त चौधरी रहेका छन् ।
सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ पैदल आइरहेका उनीहरूलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने करिब १.८८ ग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्थानीयका अनुसार, उनीहरू लामो समयदेखि भारतबाट लागुऔषध ल्याई गाउँमा बिक्री गर्दै आएका थिए । रातको समयमा भारतीय गाडीमार्फत लागुऔषध भित्र्याई गाउँका अन्य लागुपदार्थ सेवन कर्ताहरुलाई वितरण गर्ने गरेको आरोप समेत लागेको छ । गाउँमा लागुऔषध विस्तार गर्न उनीहरूको मुख्य भूमिका रहेको बताइएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।