Butwal Today

एकै वर्षमा चारवटा लोकसेवामा नाम निकालेका ऋषिराम

८ भाद्र २०८२, आइतबार
अ+
अ-

जितपुर ७ भदौ ।
“लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै हो” भन्ने भनाई धेरै सुनिन्छ । नेपालमा सरकारी सेवामा प्रवेश पाउन धेरैले सपना देख्छन् । तर अर्घाखाँचीका ऋषिराम विश्वकर्माले भने यसलाई सम्भव बनाएर देखाएका छन् ।

शितगंगा नगरपालिका–१३ सिमलपानीका ३५ वर्षीय विश्वकर्मा एक वर्षमै चार–चारवटा लोकसेवामा नाम निकाल्न सफल हुँदै आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । सामान्य गाउँको परिवेशमा हुर्किएका विश्वकर्माले पहिलो औपचारिक शिक्षा बुद्ध निमाविबाट सुरु गरेका थिए । कक्षा ३ देखि ५ सम्म रातामाटा प्रावि, ठाडामा पढे । त्यसपछि कक्षा ६ देखि १२ सम्मको अध्ययन ज्योति मावि, ठाडामै पुरा गरे । उच्चशिक्षाका लागि भने उनी पाणिनी बहुमुखी क्याम्पस, सन्धिखर्क पुगे । त्यहींबाट स्नातक र स्नातकोत्तर अध्ययन पुरा गरेका उनले निरन्तर आफ्नो शैक्षिक यात्रा अगाडि बढाएका थिए ।
विश्वकर्माको जीवन यात्रा केवल किताब र परीक्षासम्म सीमित भएन । उनीसँग विविध क्षेत्रमा काम गरेको अनुभव पनि छ । वि.सं. २०६५ देखि २०६९ सम्म उनले रेडियो अर्घाखाँचीमा सञ्चारकर्मीको रूपमा चार वर्ष बिताए । स्थानीय मुद्दा र सामुदायिक प्रसारणसँग नजिक भएर काम गर्दा उनले समाजलाई बुझ्ने दृष्टिकोण पाए । साथै शिक्षण क्षेत्रमा पनि उनको योगदान महवपूर्ण रह्यो । वि.सं. २०६८ मा बुद्ध आधारभूत विद्यालयमा निजी स्रोत शिक्षकका रूपमा कार्यरत भए । २०६९ मा शिवादह माध्यमिक विद्यालयमा करार दरबन्दीमा नियुक्त भए र केही वर्षमै २०७१ मा प्रावि स्थायी शिक्षकको रूपमा सिफारिस भए । सोही वर्षमा नै निमावि वैकल्पिकमा समेत नाम निकाल्दै उनले आफ्नो क्षमताको परिचय दिए ।

लोकसेवामा प्रवेश गर्ने सपना धेरै नेपाली युवाले बुन्छन् । तर, सपना पूरा गर्ने अवसर भने थोरैलाई मात्र मिल्छ । विश्वकर्माको निरन्तर मेहनत र धैर्यताले उनलाई सफलता दिलायो । २०७८ सालमा संघीय प्रा.स. वैकल्पिकमा नाम निकाल्दै उनले पहिलो ठूलो उपलब्धि हात पारे । त्यसपछि २०८० मा शिक्षा प्रशासन समूहअन्तर्गत गण्डकी प्रदेशमा शिक्षा अधिकृत (वैकल्पिक) को रूपमा छनोट भए ।
तर, उनी भन्छन् — “साँच्चिकै परिवर्तन २०८१ सालमा आयो । विभिन्न आरोह–अवरोहपछि त्यो वर्ष मेरो जीवनकै सबैभन्दा फलदायी रह्यो ।” उनले २०८१ मा गण्डकी प्रदेशमा प्रा.स मा खुल्ला तर्फबाट सिफारिस भए । यस्तै २०८१ मै लुम्बिनी प्रदेशमा प्रा.स मा खुल्ला तर्फबाट सिफारिस भए । २०८१ मै उनले कोसि प्रदेशमा प्रा.स प्रथम पत्र उत्तीर्ण भई सिफारिस भैसकोले दोस्रो पत्र नदिएको नदिएको जानकारी दिए । उनले पुन २०८१ मै शिक्षा अधिकृतका लागि गण्डकी प्रदेशमा खुल्ला तर्फबाट सिफारिस भए । र २०८२ संघीय विद्यालय निरीक्षकमा सिफारिस खुल्ला तर्फबाट सिफारिस भए । यो सँगै उनले २०८२ मा संघीय विद्यालय निरीक्षक (खुला) मा समेत नाम निकाल्दै आफ्नो क्षमताको बलियो छाप छोड्न सफल भए ।

भदौ १ गतेदेखि उनी शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकमा शाखा अधिकृतको रूपमा कार्यरत भएका छन् । सरल, मिलनसार र अनुशासित स्वभावका विश्वकर्मा समाजमा एउटा जीवन्त उदाहरण बनेका छन् । उनका उपलब्धिले केवल उनको व्यक्तिगत सफलता मात्र होइन, मेहनत, लगनशीलता र दृढ इच्छाशक्तिले के हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी पाठ पनि दिएको छ । सञ्चारकर्मीबाट सुरु भएको उनको यात्रा शिक्षक हुँदै लोकसेवाको उच्च जिम्मेवारीमा पुगेको छ ।