© २०२३
नवलपरासी, ७ भदौ ।
पहाडमा बसाइँ सरेर खेतबारी बाँझो हुन थालेको चर्चा चलिरहँदा नवलपरासीमा पनि दुई हजार भन्दा बढि खेती बाँझो रहेको तथ्याँकले देखाएको छ । बाँझो जग्गा देखिनु कृषि प्रति स्थानीय युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।
जिल्ला समन्वय समितिले मलखादको कोटा वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारमा पेश गरेको खेती तथा जग्गाको तथ्याँक विवरण अनुसार जिल्लाभित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि पेशाप्रति स्थानीय युवाको नैराश्यता, खेतीमा सरकारको कम लगानी, सिंचाई, मलखाद्य, उन्नत बीउबिजन, उत्पादित कृषजन्य पदार्थको बजारीकरण लगायतका चुनौतीले पनि पहाडमा मात्रै नभई अहिले तराईकै जिल्लामा पनि खेतीयोग्य जग्गा भएपनि कम खेती गर्न थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उत तथ्याँक अनुसार सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ, जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो अवस्थामा देखिन्छ । त्यसैगरि क्रमशः वर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको छ भने ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भइरहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउँपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भइरहेको र २ सय ७ हेक्टर बाँझो छ ।
प्रतापपुर गाउँपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसैगरि सुस्ता गाउँपालिकामा ५ हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भइरहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउँछ ।
पाल्ह्ीनन्दन गाउँपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । खेतीयोग्य जग्गा सबै भन्दा थोरै रहेको र सबै भन्दा बाँझो खेती हुने जग्गा पनि पाल्हीनन्दनमै देखिएको छ ।
यसैगरि सिंचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रतिशत जग्गामा मात्र सिंचाई पुगेको छ । खेती गर्ने प्रकारको आधार मान्ने हो भन्ने केरा खेती २ हजार ५ सय ४४ हेक्टरमा, उखु खेती ३ हजार ४ सय ३८ हेक्टर, तरकारी खेती २ हजार २ सय २३ हेक्टर र बीउ उत्पादन ढाकेको क्षेत्रफल १ हजार ५ सय ७१ हेक्टर रहेको छ । जस्मा सबै भन्दा बढि केरा
उत्पादन हुने सुस्ता गाउँपालिकामा १ हजार ४ सय ६० हेक्टर रहेको छ । उखु सबैभन्दा बढि प्रतापपुरमा २ हजार १ सय ४ हेक्टर रहेको छ । त्यसैगरि तरकारी खेती सबै भन्दा बढि ७ सय २१ हेक्टर रामग्राम नगरपालिकामा हुने गरेको तथ्याँकले देखाएको छ । त्यसैगरि विउँजिनमा पनि सबैभन्दा बढि रामग्राममै हुने गरेको र कुल ९ सय ९२ हेक्टरमा बीउँबिजन हुने गरेको छ ।