© २०२३
नेपालमा लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको छ । देशका विभिन्न स्थानमा फैलिएको लम्पीस्किनका कारण हजारौं पशु चौपायाको मृत्यु भैसकेको छ । लम्पीस्किन नियन्त्रणका लागि सरकारको प्रयास सुस्त भैरहेको अवस्था छ । सातै प्रदेशमा फैलिएको लम्पीस्किन रोगको प्रकोप नियन्त्रणका लागि घर घरमा पशु चिकित्सक सहितको टिम परिचालन गर्नुपर्नेमा अहिलेसम्म त्यो हुन सकेको छैन । लम्पीस्किन नियन्त्रणको कुरा संसदमा समेत उठेको छ । नेकपा एमालेका सांसद महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको भन्दै सरकारले रोग नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले गत वर्ष मात्रै यो रोगबाट ७० अर्ब रूपैयाँको क्षति भएको जानकारी दिए । उनले यो वर्ष पनि उक्त रोग फैलिरहेको भन्दै यसको रोकथामका लागि सरकारलाई आवश्यक भ्याक्सिन प्रबन्ध गर्न र महामारीका रूपमा घोषणा गरेर काम गर्न सरकारसँग माग गरे ।
पछिल्लोसमय लम्पीस्किन रोगबाट पशु चौपायाको मृत्युको संख्या बढेको छ । असार र साउनमा मात्रै ३३ हजार बढी गाइभैंसी संक्रमणबाट प्रभावित र १२१९ वटाको मृत्यु भएको पाइएको छ । गत आर्थिक वर्षको अन्तसम्ममात्रै यसको संक्रमणबाट झन्डै ७० अर्बको क्षति भएको थियो । नेपालमा पशुपालन गर्ने किसानको संख्या ३५ लाख छ । यो पटक पनि ठूलो क्षति हुनसक्ने देखिएको छ तर सरकारले आवश्यक भ्याक्सिन उपलब्ध गराउन सकेको छैन । अव सरकारले यो रोगलाई महामारीको रूपमा घोषणा गर्नु जरुरी छ । आजको औषधि विज्ञानले समृद्ध विश्वमा यतिका धेरै पशुको मृत्यु आफैंमा भयावह हो । यस अर्थमा पनि यसलाई सामान्य मान्न सकिन्न ।
नेपाली पशु किसानलाई प्रभावित वनाईरहेको यो प्रकोप टाढाको घटना होइन । लम्पीस्किनबाट विश्वका धेरै मुलुक प्रभावित भएका छन । यद्यपि यो विगतको जस्तो अलगथलग विश्व होइन, जहाँ संक्रमण फैलिन समय लाग्थ्यो । आजको दिनमा विश्वको कुनै पनि कुनामा फैलिएको रोग अर्को कुनामा सजिलै पुग्न सक्छ । अहिलेको अवस्थामा रोग एउटा उडानबाट मात्र टाढा हुन्छ । संसारभरि मानिसको यात्राले संक्रमण विस्तारलाई सहज भएको छ । तसर्थ लम्पीस्किनप्रति नेपाल अहिल्यै चिन्तित हुनुपर्छ । सरकारले लम्पीस्किन नियन्त्रणप्रति वेवास्ता गर्ने हो भने रोगको संक्रमण अझै बढ्न सक्छ । यो अवस्थालाई न्यून गर्न हामी आफैं तयार हुनुपर्छ । वास्तवमा यो महामारीकै अवस्थामा आईसकेको हुनाले सरकारी अभियानले मात्रै यो नियन्त्रण हुन सक्छ । अतः यो बिषयमा सरकारको ध्यान जाओस् ।
नेपालमा पशुपालनमा लाखौं किसान जोडिएका छन् । धेरै किसानको दैनिकी यही पशुपालनमा निर्भर छ । पशुपालन नहुने हो भने रोजीरोटीको समस्या आउनसक्छ । एक अर्थमा भन्नुपर्दा बेरोजगारीको अवस्था उत्पन्न हुनेछ । अतः पशुपालनमा जोडिएका किसानको समस्या समाधान गर्ने हो भने लम्पीस्किन नियन्त्रणमा ध्यान जाओस् । पशु स्वास्थ्य सेवा विभागले लम्पीस्किन नियन्त्रणका लागि प्रयास भैरहेको जनाएको छ । तर, ढिलोगरी सुरु भएको उपचारले रोगको निदान गर्न सक्दैन, नियन्त्रण मात्रै गर्ने हो । जस्तो विगतमा पनि लम्पीस्किनको प्रकोप फैलिँदा नियन्त्रण मात्रै गरियो, निदान हुनेगरी भएन । जसको नियति आज पशुपालनमा जोडिएका किसानले भोगिरहेका छन् । अझैपनि समय छ । लम्पीस्किन नियन्त्रणका लागि सरकारले ठोस पहल गरोस् । निश्चितरूपमा महामारीको सुरुवात थोरैबाट हुन्छ । चीनको वुहानबाट सुरु भएको कोभिड– १९ ले विश्वलाई प्रभावित गराएको अनुभव अझै ताजा छ । तसर्थ लम्पीस्किनलाई नजरअन्दाज गर्ने काम नहोस् । संसारलाई आतंकित बनाउनुअघि नै यसको नियन्त्रणको पहल सुरु होस् । लम्पीस्किन वा यस्तै अन्य प्रकोपबाट जोगिनेतर्फ सरकारको तयारी सशक्त हुनुपर्छ ।