Butwal Today

एक महिनामै १७४ शव नेपाल फर्किए

८ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं,  ८ भदौ ।

धन कमाउने र परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर विदेशिएका नेपालीहरूको मृत्यु दर दिनप्रतिदिन भयावह बन्दै गएको छ । पछिल्लो एक महिनाको तथ्यांकले झनै चिन्ताजनक अवस्था चित्रण गरेको छ । साउन महिनामा मात्र १७४ नेपालीको शव विदेशबाट नेपाल ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार, हाल विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको शव हरेक दिन औसतमा ४ देखि ५ जनासम्म ल्याइँदै आएको हो । तीमध्ये अधिकांश कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायत खाडी तथा अन्य श्रमिक गन्तव्य मुलुकहरूबाट ल्याइएका हुन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै वैदेशिक रोजगारीमा गएका एक हजार २५५ नेपालीले ज्यान गुमाएका थिए । यी संख्या उनीहरूले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिई प्रस्थान गरेपछि मृत्यु भई बोर्डबाट राहत स्वरूप आर्थिक सहायता प्राप्त गर्नेहरूको विवरणमा आधारित छन् ।

यसका अतिरिक्त, प्रहरी प्रशासनमार्फत मुचुल्का उठाइ परिवारलाई बुझाइएको तथ्यांक अनुसार सोही अवधिमा मृत्यु हुनेको संख्या एक हजार ४०१ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने एक हजार ४५५ जनाको मृत्यु भएको थियो ।