© २०२३
लमही, ८ भदौ ।
गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका किसानसँग सरकारी दरमा दूध खरिद गरी महिनामै भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि किसानहरू खुसी भएका छन्।
सहकारीले गढवा प्रहरी चौकी नजिकै सञ्चालनमा ल्याएको दुग्ध संकलन तथा बिक्री केन्द्रमार्फत किसानले ल्याएको दूध संकलन गर्दै आएको छ। यसका लागि गाउँपालिकाले बुटवलस्थित विशिष्टीकृत सहकारीसँग सम्झौता गरी मासिक भुक्तानी हुने व्यवस्था मिलाएको छ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलका अनुसार, “किसानको लागत घटाउन, पशुपालन प्रवर्द्धन गर्न र बजार व्यवस्थापन सहज बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो। विगतमा किसानले दूध बिक्री गर्दा भुक्तानी महिनौँ ढिला हुने गुनासो थियो, तर अब प्रत्येक महिना भुक्तानी हुने व्यवस्था भएको छ।”
सरकारी दरअनुसार १ फ्याटको ७.१५ रुपैयाँ र १ एसएनएफको ४.५४ रुपैयाँ कायम गरिएको कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिए।
दैवराज यादव जस्ता स्थानीय किसानहरू यो योजनाबाट निकै उत्साहित भएका छन्। यादवले भने, “बर्खाको समयमा दूध बिक्री गर्न समस्या, सस्तो दररेट र महिनौँसम्म पैसा नपाउने समस्या थियो। तर अहिले मासिक भुक्तानी हुने भएपछि हामी किसानहरूमा आशा पलाएको छ।”
गढवा सामाजिक उद्यमी महिला सहकारीका व्यवस्थापक रम्भुनाथ चौधरीका अनुसार अहिले बिहानको समयमा दूध संकलन भइरहेको छ भने चाँडै नै अन्य वडाबाट पनि दूध संकलन विस्तार गरिने तयारी गरिएको छ।
यसरी नियमित भुक्तानीको सुरुवातसँगै गढवाका किसानहरूको अनुहारमा खुसी झल्किएको छ।