Butwal Today

ठगिँदै किसान: डिएपीको नाममा जैविक मल बिक्री

७ भाद्र २०८२, शनिबार
अ+
अ-

समाचार सारांश


  • हाल नवलपरासी लगायतका जिल्लाहरूमा जैविक डिएपी भनेर बिक्री भइरहेको मल न त वास्तविक रासायनिक डिएपी हो, न त पूर्ण जैविक मल नै हो ।

  • यसरी मलको नाममा भ्रम सिर्जना गरी किसानलाई ठग्ने काम भइरहेको छ ।

  • किसानहरूले भ्रममा परेर त्यो कमसल मल रु.५० प्रति के.जी. सम्ममा किनिरहेका छन्, जुन गुणस्तरको आधारमा अत्यधिक महँगो हो ।


नवलपरासी, ०७ भदौ ।

मलखाद्यको अभाव सृजना भइरहेको मौका छोप्दै केही कम्पनीहरूले किसानलाई भ्रमित गर्दै जैविक मलको नाममा कमसल बस्तु बिक्री गरेको पाइएको छ ।

एकातिर जैविक मल भन्ने अर्को तर भ्रमित गर्दै (डिएपी) नाम दिएर कमसल मल खुलेआम बिक्री भएको आरोप सरोकारवालाको छ ।
जिल्लामा अहिले जैविक डिएपी बोरामा उल्लेख गरी बिक्री वितरण भएको र केही डबल एक्सन पावर को सर्टनेम (संक्षिप्त) लाई डिएपी भनेर बोराहरूमा उल्लेख भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ ।

यस्तो कार्यले किसान भ्रममा परेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले बताए सम्बन्धित मल बिक्रेता, सप्लायर्स र कृषि मन्त्रालय तथा निर्देशनालय मार्फत सम्बन्धित उद्योगलाई पनि जानकारी गराइ सकिएको उनको भनाइ छ ।

उनका अनुसार पहिलादेखि किसानले कण्ठस्थ गरेको डिएपी मल अर्थात् डार्ई एमोनियम फस्फेट नै बुभकेर ती मलहरू लगेर खेतबारी बालीनालीमा प्रयोग गर्दै आएका छन् । जैविक हुँदा बालीनालीमा केही असर नपर्ला तर महँगो मूल्य लिएर तिनै मललाई डिएपी भनेर किसानलाई भ्रमित गर्नु, नाफाका लागि छल्ने कार्य गलत भएको उनको बताए ।

यस्ता कार्य गैर कानुनी पनि भएको उनको भनाइ थियो । ती मलहरूमा बढीमा ५ प्रतिशत फस्फोरस मात्रा होला, तिनै मलहरू केजीको ५० रुपियाँमा किसानले खरिद गर्ने गरेका छन् ।

तर वास्तविक डिएपी (डाई एमोनियम फस्फेट) मा ४६ प्रतिशत फस्फोरस हुन्छ । यदि बालीलाई रासायनिक डिएपीको अनुपातमा फस्फोरसको मात्रा पु¥याउनलाई ९ गुना बढी उक्त मलको प्रयोग गर्नुपर्ने हुन्छ ।

यसले किसानलाई तिनै जैविक मल साढे ४ सय रुपियाँ केजी पर्न जान्छ । यो किसानलाई अत्यधिक मूल्य भार मात्रै होइन, ठगी पनि हो । जैविक मलको गोबर चार हजारको एक ट्रली हुन्छ । जुन बोरामा दानादार जैविक बनाएर उद्योगले धेरै मूल्यमा बिक्री गर्न थालेको उनको भनाइ थियो ।

किसानहरू जैविक मलको नाममा भ्रम र ठगी दुबैमा पर्दै आएका छन् । यसबाट किसानलाई समेत सचेत रहन उनले आग्रह गरेका थिए ।
जैविक मलको नाममा अहिले केही उद्योगले किसान ठग्ने कार्यमा लागेको सुनवल–१२ मा गड्यौला मल तयार गर्दै आएका हरि भण्डारीले पनि बताए ।

उनका अनुसार यदि जैविक मल हो, भन्ने त्यस मलमा जीवित जिउँ हुनु आवश्यक छ, जुन अहिले बोरामा दानेदार राखिएको जैविक मलमा कुनै जीवित जिउँ छैनन् । यदि रासायनिक हो, भन्ने प्रत्यक्ष रासायनिक प्रतिक्रिया गरेको हुनुपर्छ । ती मलहरू रासायनिक मल पनि होइनन् ।

केही माटो र पातपतिङ्गर मिसाएर तापक्रम बढाई केही अन्य रसायन राखेर नै दाना बनाउने र जैविक मलको रूपमा बिक्री वितरण गर्नु र किसानलाई भ्रमित बनाउने कार्यमा उद्योगहरू लागेका छन् ।

तिनलाई सरकारले रोक्नुपर्छ, उनले भने, किसानसँगै खेलबाड उद्योगहरूले गर्दै आएका छन् । किसान लुटिँदै छन्, उनले भने, उद्योग किसान लुट्दै मोटाउँदै छन्, सरकारमा बस्नेहरूले गोहीको आँसु चुहाउँदै रमिते बनेका छन् ।

यो मलको अभावको बेला किसानलाई बसै तिरबाट लुट नै लुटमा छन् । उद्योगी व्यापारीको लुट प्रहरीको बुट समेत सहन बाध्य किसानको समस्या हेरिदिइने कोही नभएको उनले बताए ।

भ्रमित गरी मलखाद्य बिक्री वितरणबारे आफूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कृषि मन्त्री दिनेश पंथी तथा कृषि सचिव यामनारायण देवकोटालाई आवश्यक कारबाहीको माग गरिएको लुम्बिनी प्रदेशसभा सदस्य (प्रदेश सांसद) बैजनाथ कलवारले बताए ।

यसबारे सबै गम्भीर भएका छन्, उनले भने, आवश्यक कारबाही हुन्छ । कृषि सचिव देवकोटाले समेत सम्बन्धित उद्योगलाई चेतावनी दिई सकिएको बताएका थिए ।

रुपन्देहीको रोहिणी गाउँपालिका ४ स्थित ग्रोमोर फर्टिलाईजर एण्ड केमिकल्स प्रालिले डिएपी भनेर जैविक मल उत्पादन गर्दै वितरण गर्दै आएको छ । त्यसै गरी सन्जिवनी जैविक डिएपी भनेर सिएम फर्टिलाईजर नवलपरासीले उत्पादन गर्दै आएको उनले बताए ।

यता निजी कम्पनी मात्रै किसानलाई भ्रमित गरेका छैनन् । सरकारी कृषि सामग्री कम्पनी समेतबाट पनि केही रासायनिक मललाई भ्रमित गरी विक्री गर्न अनुमति प्रदान गरेको देखिन्छ । कम्पनीकै स्वीकृतिमा एमोनियम सल्फेट पनि अहिले डिएपीकै स्थानमा बिक्री वितरण भइरहेका छन् ।

एमोनियम सल्फेट एक रासायनिक मल तँ हो, तर यसलाई डिएपीको सम्पुरक मल भने नभएको ज्ञान केन्द्रका प्रमुख डा.चौबेले बताए । माटोलाई चाहिले मल खाद्य तत्त्वमा प्राथमिक तत्त्व भनेको नाइट्रोजन, फस्फोरस र पोटास हो, उनले भने, सल्फर तँ सहायक तत्त्व मात्र हो । जुन माटोलाई धेरै चाहिदैन् ।

थोरै मात्रा भए पुग्छ, बढी भयो भन्ने नोक्सान पनि गर्छ । तर एमोनियम सल्फेटमा २२ प्रतिशत नाइट्रोजन छ । २४ प्रतिशत सल्फर छ । त्यसैलाई पनि बिक्रेताले डिएपीको काम गर्छ भनी बिक्री गर्दै आएका छन् ।

कार्यालयमा आउने एक किसानले भने युरिया तँ पाइएको छैन,तर डिएपी पाइएको छ, भनेर सुनाए तर कुन डिएपी हो भनेर सोधेपछि उनले त्यही एमोनियम सल्फेटको मल देखाए । जुनमा फास्फोरसको मात्रा नै छैन । त्यसैलाई डिएपी भनेर बेच्नु पनि किसानलाई भ्रमित गर्नु हो ।

यसबारे पनि किसानलाई सचेत हुन उनले आग्रह गरेका थिए । नाप तौल तथा गुणस्तर नियन्त्रणका लागि प्रयोगशालामा त परीक्षण गर्ने कुरा त परै छ, बोरामै भ्रमित गर्ने खालका मलखादमा खेल भइरहेको कुरा ज्ञान केन्द्रले पटक पटक तालिम गोष्ठी र सञ्चार माध्यमबाट सचेत गराउँदै आएको उनले सुनाए ।

अर्कोतिर किसानलाई पर्याप्त आवश्यक मल उपलब्ध गराउन नसक्दा पनि किसानले जुन मल पायो,जस्तो सुकै मल पायो बालीनालीमा हाल्न थालेका छन् । किसानले बालीनालीको लागि मल हालेका छैनन्, मन सन्तुष्टिका लागि मल हालेका छन् । त्यसको फाइदा भ्रमित गर्ने मल उद्योगी, व्यापारी र बिक्रेताले उठाउँदै आएका छन् ।