© २०२३
बुटवल, ७ भदौ ।
बुटवलमा तीज पर्वलाई विशेष बनाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले आयोजना गरेको तीज मिलन कार्यक्रम उत्साहपूर्ण बनेको छ। कोषका कर्मचारीदेखि कार्यसमिति, सल्लाहकार र महिला सदस्यसम्मको सक्रिय सहभागिताले कार्यक्रममा आत्मीय वातावरण सिर्जना गरेको थियो।
सांस्कृतिक विविधतासहित सम्पन्न कार्यक्रममा कोषका संरक्षण तथा भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले तीजलाई केवल नृत्य–गीतको पर्व नभई महिला अधिकार, समानता र सामाजिक एकताको सन्देश बोकेको उत्सवका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार तीजले महिलालाई आफ्ना विचार अभिव्यक्त गर्ने एउटा विशेष अवसर दिन्छ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले श्रमिक तथा व्यवसायीको हितका लागि संस्थाले गर्दै आएको गतिविधि स्मरण गराउँदै यस्ता पर्वले आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताए। महासचिव योग गुरुङले तीज मिलनले कर्मचारीबीच एकताको भावना जगाउने मात्र नभई संस्थालाई पनि थप जीवन्त बनाउने विश्वास व्यक्त गरे।
गीत–संगीत, नृत्य र रमाइलो महोलले भरिएको कार्यक्रममा सहभागीहरूले संस्कृतिप्रतिको आस्था र सहकार्यको सन्देशलाई अझ मजबुत पारेका थिए। तीज मिलनलाई सबैले केवल पर्वको रूपमा मात्र नभई मिलन र सद्भावको साझा थलोका रूपमा अनुभव गरे।