© २०२३
बुटवल, ०७ भदौ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य निर्देशनालयले शुक्रबार बुटवलमा आर्थिक वर्ष २०८२ /०८३ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
कुल बजेट ६२ करोड ७७ लाख मध्ये पुँजीगत तर्फ ४ करोड र चालुतर्फ ५८ करोड ७७ लाख रहेको निर्देशनालयका नि महानिर्देशक श्रवणकुमार चौधरीले बताए । उनले यो वर्षका लागि केही नयाँ कार्यक्रमहरू पनि आवश्यकता अनुसार समावेश गरिएको जानकारी दिए ।
उनले यो वर्ष नयाँ र अत्यन्त आवश्यक देखिएको गौसला व्यवस्थापनका लागि ५० लाख रुपियाँ बजेट छुट्टाएको जानकारी दिए । उनले लुम्बिनी प्रदेश भरी गौशाला बने पनि त्यसको व्यवस्थापन अन्तर्गत दानाको व्यवस्थापन हुन नसकेको अवस्थालाई हेरेर यो वर्ष प्राथमिकताका साथ बजेट राखिएको प्रमुख चौधरीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा हाल ३८ वटा गौशालाहरू सञ्चालनमा रहेका छन् । त्यसै गरी निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले यस वर्ष पशुपंक्षी मत्स्य बजारीकरण प्रवर्द्धन कार्यक्रम पनि समावेश भएको बताए तर यो कार्यक्रम गर्ने धेरै चुनौतीहरू रहेको भन्दै त्यसका लागि सबै क्षेत्रको साथ र सहकार्य आवश्यक रहेको बताए ।
भुषालले यो वर्ष व्यावसायिक फर्मा विज्ञ सहितको टोली गोठमा पुग्ने, भैँसीको उत्पादकत्व नस्ल सुधार गर्ने, पहाडमा उत्पादकत्व सुधारमा जोड दिने, डोर ट डोर अभियान जारी राख्ने र गुल्मी, अर्घाखाँची र अरू जिल्लाका केही स्थानीय तहमा पूर्ण खोप अभियानमा जोड दिने जानकारी दिए ।
त्यसै गरी तराईमा खोरेत रोगको निवारणका लागि काम गर्ने बताए । तर यो वर्ष उत्पादन प्रतिफलमा आधारित कार्यक्रम नहुँदा किसानहरूमा निराशा आउन सक्ने बताए ।