Butwal Today

दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

७ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ७, शनिबार) दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति : मधेस प्रदेश, कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली (आकाशमा पातलो बादल) रहनेछ। मधेस प्रदेश, कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाड र र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपासछ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।