© २०२३
बुटवल, ६ भदौ । रुपन्देही क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको लिस्नु कप फुटबल प्रतियोगिताको २३ औ संस्करण भदौ १४ गते शनिबारबाट हुने भएको छ । यशोदा फुड्स मुख्य प्रायोजन, तिलोत्तमा नगरपालिका वडा नं. १५ को वडा कार्यालय सह–प्रायोजन तथा लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो ।
खेल संयोजक पदम बहादुर थापाले श्री पशुपति माध्यमिक विद्यालयको प्रांगणमा हुने प्रतियोगिताको विजेता टिमले नगद ४ लाख ४ हजार ४४४ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २ लाख २ हजार २२२ रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसै गरि सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्ताले १२ हजार ५ सय, राइजिङ खेलाडीले १२ हजार ५ सय प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीले ५ हजार र अनुशासित टिमले आकर्षक ट्रफी पाउने खेल संयोजक थापाले बताए । प्रतियोगिता ९ ‘ए’ साइडको रहनेछ । विगतका दिनमा ५ सय जना दर्शकमात्र व्यवस्थित साथ प्यारफिटमा बसेर हेर्ने व्यवस्था गरिएतापनि यस वर्ष ८ सय जना दर्शक व्यवस्थित साथ बसेर हेर्ने व्यवस्था मिलाईको उनले बताए । यद्यपि करिब ३ हजार जना दर्शकले खेल अवलोकन गर्दै आइरहेको लिस्नु क्लबका सचिव मनोज कुमार क्षेत्रीले जनाए ।
खेललाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघबाट निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ र खेललाई फिफाको नियमानुसार खेलाईनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका खेलाडीहरूको खेलअवधि भरका लागि १ लाखको दुर्घटना बीमाको व्यवस्था रहेको क्षेत्रीले जनाए ।
प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोर्टस् क्लब, फर्साटिकर एफ. सी., भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा वोइज बुटवल, देवदह वोइज खैरेनी, वालिङ्ग–११ वालिङ्ग नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरि कुल १२ वटा टिमको सहभागिता रहने यस प्रतियोगितालाई विगतको भन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिएको अध्यक्ष तिर्थराज मल्लले बताए । प्रतियोगिताको फाइनल खेल भाद्र २७ गते शुक्रबार हुने छ ।