© २०२३
गुल्मी, ०६ भदौ ।
मादल नेपाली कला संस्कृति र परम्परा बोकेको एउटा वाद्यवादनको सामग्री हो । विभिन्न उत्सव र चाडपर्वहरूमा मादलको धेरै महत्त्व हुने गर्दछ । मादलले हाम्रो कला र संस्कृतिको संरक्षणमा पनि ठुलो टेवा पुराउँदै आएको छ । तर पछिल्लो समयमा जिल्लामा मादल बनाउने पेसा भने बिस्तारै हराउँदै जान थालेको छ ।
चाड पर्वहरू मध्य हिन्दु नारीहरूको महान् पर्व तीजमा मादलको अत्यधिक प्रयोग हुने गर्दछ । तीजको अवसरमा महिला दिदीबहिनीहरू मादलको तालमा नाच्दै गाउँदै रमाइलो गर्ने परम्परा छ । तत्कालीन समयमा मादल बनाउनेहरूको लागि पनि ठुलो अवसर आए जस्तै हुने गर्दथ्यो ।
त्यति बेला उनीहरूलाई मादल बनाउन पनि भ्याई नभ्याई हुन्थ्यो । तर अहिले गुल्मीको सदरमुकाम तम्घासमा वर्षौँदेखि मादल बनाउँदै आएका रामु नेपालीको भने चाडबाड आएर पनि मन त्यत्ति खुसी छैन । चाडबाड नजिकिँदै गर्दा मादलको व्यापार भने सोचे जस्तो छैन ।
विगतमा भ्याई नभ्याई हुने मादल बनाउने व्यवसाय अहिले भने सङ्कटमा पर्दै गएको छ । आधुनिक गीतसँंगित र प्रविधिको प्रभावका कारण परम्परागत वाद्यवाधन प्रतिको आकर्षण घट्दै जाँदा मादल व्यवसाय गर्दै आएका कारीगरहरू अहिले रोजगारी गुमाउने स्थितिमा पुगेका छन् ।
वाग्लुङको गल्कोटबाट गुल्मीको तम्घासमा वर्षौँदेखि मादल बनाउने पेसामा संलग्न रामु नेपालीलाई विगत वर्षहरूमा तीज आउनु केही महिना अगाडि नै नयाँ मादल बनाउनका लागि धेरै माग हुने गर्दथ्यो । त्यस समयमा धेरै माग हुने भएका कारण उनीहरूलाई ग्राहकको माग धान्न पनि भ्याईनभ्याइ थियो ।
नयाँ मादल खरिद गर्नेहरूदेखि पुराना मादल मर्मत गर्नेको पनि उत्तिकै भिड लाग्ने गर्दथ्यो । तर अहिले भने मादलको त्यत्ति माग पनि छैन र बजार पनि छैन । आफूले वर्षौँदेखि बनाएका मादलहरू बिक्री नहुँदा त्यत्तिकै गोदाममा थन्काएर राख्नु परेको नेपालीले बताए ।
“कहिलेकाहीँ त यो सिजनमा बोहनी पनि नभई दिन बित्ने गर्दछ, तर अहिले तीज आएर होला आजकाल फाट्टफुट्ट रूपमा बिक्री हुन थालेको छ,” उनले भने । तीज पर्वमा विशेष गरी महिला दिदीबहिनीहरूले मादलमा तालसँगै गीत गाउने परम्परा रहेको छ ।
यस अवसरमा सहरदेखि गाउँका टोलटोलमा आयोजना गरिने तीज गीत प्रतियोगिता र सामूहिक दर खाने कार्यक्रमहरूमा मादलको प्रयोग अनिवार्य जस्तै हुन्थ्यो । तर पछिल्लो समय आधुनिक मोबाइल स्पिकर, तथा डिजिटल रेकर्डिङ् प्रणालीको प्रयोग बढेसँगै मादलको प्रयोग कम हुँदै गएको छ ।
स्थानीय पालिकाहरूले कला संस्कृति संरक्षण संरक्षण भनेर बर्सेनि लाखौँ रकम विनियोजन गर्ने प्रचलन छ । तर मादल बनाउनेहरूको पेसा संरक्षणका लागि कुनै पनि निकायबाट पनि सहयोग नभएको उनीहरूको गुनासो छ । “समाचारमा केकेलाई सहयोग गरे भनेर धेरै सुनिन्छ, तर मादल बनाउनेहरूलाई सहयोग गरेको पनि कहिल्यै सुनिन्न,” नेपालीले भने ।
मादल बनाउनको लागि आवश्यक पर्ने कच्चा सामग्रीहरूको अभावमा मादल बनाउन पनि समस्या हुँदै जान थालेको छ । मादन बनाउनका लागि कतिपय आवश्यक कच्चा पदार्थ बाहिरबाट किनेर ल्याउँदा महँगो पर्ने गरेको नेपालीले बताए ।
कच्चा सामग्री महँगो परेपछि मादलको मूल्य पनि धेरै पर्ने हुँदा किनबेच हुन कम भएको उनको भनाइ छ । मादल बनाउन छाला र काठको समस्या हुने गरेको उनीहरूले बताए । कुनै समय वर्षमा तीन हजार भन्दा धेरै मादल बेच्ने डिलबहादुर नेपालीलाई अहिले वार्षिक ४०/५० पिस बेच्न पनि धौधौ पर्ने गरेको छ ।
मादल बनाउन लगानी धेरै हुँदा मूल्य पनि महँगो हुँदै गएको उनको भनाइ छ । एउटा मादल तयार गर्न दुई देखि तीन दिनसम्म लाग्ने गर्दछ । एउटा मादलको मूल्य समान्यतया दुई हजार पाँच सय रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।
जिल्लामा विवाह, बर्तवन्ध, देउसी–भैलो, विभिन्न धार्मिक अनुष्ठान तथा विविध सांस्कृतिक पर्व तथा कार्यक्रमहरूमा मादलको माग हुने गर्दछ ।