© २०२३
सुर्खेत,६ भदौ ।
कर्णाली सरकारमा सत्ता पक्ष भित्रको असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आन्तरिक रुपमा खटपट रहेको विषय अहिले भने सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सरकारमा सहभागी एमाले र काँग्रेसबीच खटपटका कारण कतिपय महत्वपूर्ण काम अगाडी बढ्न सकिरहेको छैन ।
बिहीवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै असन्तुष्टि सार्वजनिक भएको छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चा बीच मुख्यमन्त्री कँडेलले देउवासँग भेट गरेका थिए ।
उक्त भेटपछि मुख्यमन्त्री कँडेलले फोटा सार्वजनिक गर्दै भनेका छन्, ‘भेटमा समसामयिक राजनितिसंगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो । महत्वपूर्ण सुझाव र मार्ग दर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।’
उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको फोटो सुर्खेतका स्थानीय काँग्रेस नेता किरण वलीले सेयर गरेका थिए । फेसबुकमा सेयर भएको पोष्टमा पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कँडेल र देउवाबीच भेटको फेसबुकको पोष्टमा प्रतिकृया दिदै शाहीले मुख्यमन्त्री कँडेलले सभापति देउवा समक्ष आफुलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर भनेको र देउवाले आफुलाई सो बारेमा जानकारी दिएको टिप्पणी गरेका छन् ।‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर रिपोर्टटिङ गर्नुभएछ त मेरो ११ बजेको भेटमा सभापति ज्यू भन्दै, हनुहुन्थ्यो,’ शाहीले कमेन्टमा लेखेका छन् ।
कर्णालीमा कांग्रेस–एमाले मिलेर सरकार गठन भएको एक वर्ष पूरा भएको छ । तर यी दुई दलबीचको सम्बन्धमा भने खटपट सुरु भएको छ । सत्ता पक्षका दुई दलका विवादले गर्दा खेलकुद, लोकसेवा लगायतका नियुक्ति समेत हुन सकेको छैन ।