© २०२३
श्रम तथा रोजगार विभागका अनुसार साउनमा मात्रै ६८ हजार नेपाली वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक उडेका छन् । विभागकै पछिल्लो तथ्याङ्क अनुसार दैनिक सरदर सात नेपालीको शव बन्द बाकसमा कैद भएर नेपाल फर्किरहेको छ ।
गत महिना मात्रै एकै दिन १४ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा आउँदा र त्यो तस्बिर कैद गरिएका टेलिभिजनका पर्दा देख्दा नेपालीको यथार्थ अवस्था झल्किएको स्पष्ट हुन्छ । वास्तवमा नेपालीहरू रहरमा विदेश पुगेका छैनन् ।
अनेक हन्डर खाएर सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै विदेश जानुपर्ने बाध्यता छ । यसरी बन्द बाकसमा कैद भएर स्वदेश फर्काइदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीजनको आँखा रसाउनु स्वाभाविक छ ।
आफन्तको बिछोडमा विमानस्थलमा देखिने आफन्तजनको आँसुको भेलले आम नेपालीलाई पिरोलेको मात्र छैन, हरेक दिन देखिने यो शृङ्खला कहिले अन्त्य हुने हो ? चिन्ता उत्पन्न भएको छ । अहिले पनि दैनिक सरदर दुई हजार बढी युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम गन्तव्य मुलुकको बाटो तताइरहेका छन् । यसरी नेपाली श्रमिक बाध्य भएर वैदेशिक रोजगारीमा जानुपरेको छ ।
नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा बिदेसिनु नागरिकको बाध्यता हो । विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये सात जनाको शव हरेक दिन बन्द बाकसमा कैद हुने गरेको छ । विदेशमा पसिना बेचेर परिवार र बालबच्चाको खुसीका लागि विदेशिने नेपाली श्रमिक अकालमै बाकसका कैद भएर आउनु अत्यन्त पीडादायी हो ।
हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । निश्चित रूपमा जन्मपछि मृत्यु सत्य छ । एक पटक यो संसारमा पदार्पण गरेपछि जानु नै छ । मृत्यु शास्वत सत्य छ तर, अकाल मृत्युलाई स्वाभाविक ठान्ने चिन्तन कदापि राम्रो होइन । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भइरहेका छन् ।
पछिल्लो समय खाडी राष्ट्र जाने नेपाली महिलाहरू समेत अत्यन्त जोखिममा काम गरिरहेका छन् । उनीहरूको जीवनको सुरक्षा छैन । सरकारले समेत वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रयास नगर्नु चिन्ताको कुरा हो ।
जबसम्म वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सकिँदैन तबसम्म यो समस्याले निकास पाउँदैन् । तसर्थ सरकारले चाहेमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सक्छ । नेपालीले नेपालीलाई लुटने, ठग्ने, ढाँटने र छलकपट गर्ने र अनेकौं जालझेल गर्ने क्षेत्रको रूपमा वैदेशिक रोजगारीको क्षेत्र बदनाम भएको छ ।
म्यानपावर कम्पनीको नाममा नेपालीमाथि अनेक पीडा थोपर्ने काम भएको छ । यद्यपि सवै म्यानपापर कम्पनी एउटै प्रकृतिका छैनन् । पछिल्लो समय वैदेशिक रोजगारीलाई अव्यवस्थित बनाउने काम सुरु भएको छ । तर, त्यो कुरामा मात्रै सीमित छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौं प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम अहिले पनि रोकिएको छैन ।
टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्याउने काम भैरहेको छ । अहिले हरेक दिन टिकटकमा नेपालीले श्रम गर्नै नपाउने मुुलुकमा आकर्षक काम भन्दै नेपाली ठगी गर्ने काम भैरहेको छ । अझैपनि वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाई गरेको छ । श्रम मन्त्री शरदसिंह भण्डारीको एक बर्षे कार्यकाल त्यत्तिकै खेर गएको छ ।
सरकारले नयाँ नयाँ मुुलुकमा श्रम गन्तव्य बनाउने कुरा गरेपनि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो । सरकारले वैदेशिक रोजगारीलाई नियमन नगरेसम्म बन्द बाकसमा शव आउने क्रम रोकिने अवस्था छैन । तसर्थ सरकार अव ढिलो भैसक्यो वैदेशिक रोजगारीलाई व्यवस्थित बनाऊ ।
नेपालीको शव हरेक दिन बन्द बाकसमा आउँदा अलिकति भएपनि सहानुभूति देखाउ । आखिर किन भैरहेको छ बन्द बाकसको आयातित खेल ? यसको कारण के हो ? खोजविन गर ।