© २०२३
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले उपसभामुख इन्दिरा रानामाथि गरिएको आलोचना अनुचित भएको भन्दै उहाँलाई अपमानित नगर्न आग्रह गरेकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उपसभामुखलाई आतङ्कित र अपमानित गर्ने काम भइरहेको भन्दै त्यसको विरोध गरिन् ।उनले भनिन्, ” उपसभामुखलाई आतङ्कित र अपमानित गर्ने काम गरिँदै छ । म यस्ता गतिविधिको विरोध गर्दछु।”
सांसद राईले संसद् बहिष्कार गर्दै आएका प्रमुख दुई दल र सरकारप्रति समेत कटाक्ष गरिन् । एकातिर दुई महिनादेखि दुई दलले संसद् बैठक बहिष्कार गरिरहेछन्, अर्कोतिर सरकार साढे दुई वर्ष अगाडिको मिति सार्ने पत्रलाई चटकेले चटक देखाएजस्तो गरिरहेको छ, उनले भनिन् ।
उपसभामुख रानाले अमेरिका जान लागेका चार जनालाई अन्तर्वार्ताको मिति सार्न अमेरिकी दूतावासमा सिफारिस गरेको पत्र सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो ।
उक्त पत्र पुरानो भए पनि पछिल्ला दिनमा नेपाली काँग्रेस र एमालेका सांसदहरूले त्यसलाई आचरणसँग जोडेर संसद्मा उठाउँदै आएका छन् ।